१५ चैत्र २०८०, बिहीबार
Follow Us

भारतले के खोज्यो नेपालसँग ?

नेपालब्रिटेन डट कम्
४ भाद्र २०७३, शनिबार ०४:५४

काठमाडौं । भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले भेटघाट गर्नुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतका रूपमा भारत जानुभएका उपप्रधानमन्त्री विमलेन्द्र निधिले हिजो साँझ नयाँ दिल्लीमा राष्ट्रपति मुखर्जीसँग भेटवार्ता गर्नुभएको निधिका स्वकीय सचिव विश्वास विक्रमले जानकारी दिनुभयो । सो अवसरमा राष्ट्रपति मुखर्जीले भारतले सदैव नेपालमा शान्ति, स्थिरता र विकास भएको हेर्न चाहेको बताउनुभएको थियो ।

भेटमा उपप्रधानमन्त्री निधिले नेपालका राष्ट्रपतिका तर्फबाट भारतीय राष्ट्रपतिलाई पठाउनुभएको नेपाल भ्रमणको निमन्त्रणा पत्र हस्तान्तरण गर्नुभएको थियो । साथै राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमणका बारेमा समेत कुराकानी भएको थियो । यसअघि राष्ट्रपति भण्डारीको भारत भ्रमण अन्तिम समयमा स्थगन भएको थियो ।

हिजो भएको उच्चस्तरीय भेटघाट र छलफलमा भारतीय उच्च अधिकारीले उपप्रधानमन्त्री निधिलाई नेपाल सरकारले संविधान संशोधन र मधेसीका माग सम्बोधन सम्बन्धमा गरेका कार्यको प्रशंसा गर्नुभएको स्वकीय सचिव विक्रमको भनाइ छ । उपप्रधानमन्त्री निधिसँग भारतीय अधिकारीहरुको भेटघाट र उच्चस्तरको छलफलपछि निकट भविष्यमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री दाहालको भारत भ्रमण तथा भारतीय राष्ट्रपति मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणबारे छलफल भएको स्वकीय सचिव विक्रमले बताउनुभयो ।

उपप्रधानमन्त्री निधिले आजै यसअघि भारतीय गृहमन्त्री राजनाथ सिंह र विदेश मामिलामन्त्री सुष्मा स्वराजसँग भेटघाट गर्नुभएको थियो । गृहमन्त्री निधिले शनिबार बिहान भारतीय प्रधानमन्त्री मोदीसँग भेटघाट गर्ने बताइएको छ । भेटका अवसरमा उपप्रधानमन्त्री निधिले प्रधानमन्त्री दाहालको भारत भ्रमणका बारेमा छलफल गर्नुहुनेछ ।

नयाँ सरकार गठनपछि प्रधानमन्त्री दाहालको विशेष प्रतिनिधि पठाउने सरकारको निर्णयानुसार उपप्रधानमन्त्री निधि दुई देशबीचको उच्च भ्रमणको तयारी तथा राजनीतिक भेटघाटका लागि बिहीबार भारत प्रस्थान गर्नुभएको हो ।