१५ बैशाख २०८१, शनिबार
Follow Us

‘उल्झन’ को रेड कार्पेट शो मार्च १८ मा

नेपालब्रिटेन डट कम्
८ फाल्गुन २०७४, मंगलवार १९:१८

लण्डन । बेलायतमा बस्दै आएका नायक ध्रुव दत्तको नयां चलचित्र ‘उल्झन’ बेलायतमा प्रदर्शन हुने भएको छ ।

आउंदो मार्च महिनाको १८ तारिख आइतबार अल्डरसटमा ‘उल्झन’को रेड कार्पेट शो हुने भएको छ भने त्यसपछि बेलायतका अन्य क्षेत्रमा समेत चलचित्र प्रदर्शन गरिने भएको छ ।

रेड कार्पेट शो अल्डरसटस्थित एम्पायर हलमा हुनेछ । सांझ ६ बजेदेखि चलचित्रको प्रदर्शनी सुरु गरिने र ५ बजेदेखि हलको ढोका खुला गरिने बताइएको छ । चलचित्र हेर्न १० पाउण्डको टिकट लाग्नेछ ।

त्यस्तै मार्च २५ आइतबारका दिन लण्डनको ह्यारो बरो फुटबल क्लबमा उल्झनका दुई वटा शो गरिने भएको छ । दिउंसो २ बजे र सांझ ५ बजेको समयमा दुई छुट्टाछुट्टै शोहरु हुनेछन् । ती शोहरुको लागि पनि टिकट १० पाउण्डकै छ ।

चलचित्रलाई रेडिंग, स्विंडन , बेजिंगस्टोक , ननिटन, बर्मिंगहम, योर्क तथा स्कटल्याण्डसहितका बेलायतका विभिन्न स्थानहरुमा पनि प्रदर्शन गरिने नायक दत्तले जानकारी दिएका छन् ।

विभिन्न सपनाहरु बोकेर विदेसिएको एउटा युवाको भोगाई र त्यसले परिवार र समाजलाई पारेको उल्झनलाई केन्द्रबिन्दु बनाएर निर्माण गरिएको चलचित्र हो उल्झन । चलचित्रमा नायक दत्तका अलावा रजनी केसी, बेनी ढुङ्गाना , दिनेश शर्मा , रामचन्द्र अधिकारी लगायतका कलाकरहरुको अभिनय रहेको छ ।

आसुतोष फिल्म्स प्रोडक्सनको ब्यानरमा निर्मित चलचित्र उल्झनलाई राजु अधिकारीले निर्देशन गरेका हुन् । चलचित्रको प्रस्तुतकर्तामा तेजेन्द्र कंडेल, कार्यकारी निर्मातामा नारायण ढुङ्गाना र निर्माताहरुमा हरि कृष्ण कार्की र नबिन अधिकारी छन् ।

बेलायतबाहेक यूरोपका विभिन्न देशहरुमा समेत उलझन प्रदर्शन गर्ने तयारी छ । चलचित्रको नेपालको प्रदर्शन मिति छिट्टै तय गरिने बताइएको छ ।