८ बैशाख २०८१, शनिबार
Follow Us

नथियामाथि विमर्श सम्पन्न

sarusaru
२९ फाल्गुन २०७४, मंगलवार ०४:३८

भरतपुर । केही दिनअघि विमोचन भएको वादी महिलाको विषयवस्तुमा आधारित उपन्यास ‘नथिया’बारे शनिबार भरतपुरमा विमर्श गरिएको छ ।
अक्षर समूह चितवनको आयोजनामा कार्यक्रम भएको हो । हरेक हप्ता साहित्य सम्बन्धी गतिविधि भइरहने चितवनमा शनिबारको राम्रो माहोलमा उपन्यासमाथि चितवनका विभिन्न साहित्यकारहरूले सुझावसहितका टिप्पणी गरे ।
पुरूषद्वारा प्रताडित महिलाको कथालाई कारूणिक ढंगमा प्रस्तुत गर्न सफल भए पनि कतिपय अनावश्यक जस्ता लाग्ने वाक्यहरू आएको समीक्षक उदय अधिकारीले बताए । यौनका विषय समेटिए पनि त्यसलाई उत्तेजक नबनाउनु लेखकको कला भएको उनको भनाइ छ । ‘विषयवस्तुलाई टिकाइराख्नको लागि फ्लास ब्याकको प्रयोग भएको छ,’ उनले भने, ‘यो पनि लेखकको अर्को सुन्दर प्रयोग हो ।’
नारीवादी चेतना र आदर्शलाई सशक्त ढंगले प्रस्तुत गर्न सफल भएको भन्दै समीक्षक लक्ष्मी बरालले पछिल्लो समय नारीका विषयले साहित्य लेखनमा स्थान पाउनु नै सफलता भएको बताइन् । ‘नथिया’बाट कृति लेखनमा साधनाको आवश्यकता पर्ने कुरा पनि प्रष्ट हुने उनले बताइन् । कवि एवम् साहित्यकार निमेश निखिलले उपन्यासको भाषामा आञ्चलिकता पाइनुलाई पनि सफलता मानेका छन् ।
उपन्यासकी लेखिका सरस्वती प्रतिक्षाले भने लामो समयसम्मको सपनालाई सार्वजनिक गरेको भन्दै आफूलाई अपूर्ण लेखकको रूपमा प्रस्तुत गरिन् । पश्चिमका वादी समुदायका महिलाहरूले सिंहदरबारमा आन्दोलन गरेको दृष्यबाट आफू प्रभावित भएको भन्दै उनले भनिन्, ‘त्यतिबेलादेखि नै मनमा पालेर राखेको सपनालाई बल्ल सार्वजनिक गर्ने मौका पाएकी छु । त्यसैले लेखनमा धेरै कमजोरी हुन सक्छ ।’ पुस्तकको आवरणबारे प्रष्ट पार्दै उनले भनिन्, ‘जीवनमा अँध्यारो र उज्यालो दुवै हुने भएकोले पुस्तकको आवरणमा संकेतस्वरूप वादी महिलाको आधा अनुहारलाई देखाउने प्रयास गरेकी छु ।’
अक्षर समूह चितवनका अध्यक्ष ईश्वर कँडेलले पछिल्लो समय नारी लेखन सशक्त बन्दै गएको भन्दै ‘नथिया’ पनि समय परिवेशअनुसार सार्वजनिक भएको बताए । कार्यक्रममा साहित्यकारहरू गोविन्दराज विनोदी, धनराज गिरी, सुरेन्द्र अस्तफल, एलबी क्षेत्री, बालकृष्ण थपलिया, सरीता तिवारीलगायतले सुझावसहितका टिप्पणी गरेका थिए । कार्यक्रममा बुकहिलका प्रकाशक भूपेन्द्र खड्का पनि उपस्थित थिए ।