७ बैशाख २०८१, शुक्रबार
Follow Us

बुढाथोकीले केन्द्रीय सदस्यबाट राजीनामा दिने

नेपालब्रिटेन डट कम्
१० भाद्र २०७३, शुक्रबार ०६:०८

काठमाडौं । नेपाली कांग्रेसका तर्फबाट शुक्रबार बिहान १३ मन्त्रीले सपथ लिएका छन् । उनीहरुलाई शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ गराउनु भएको हो । सपथ लिनेहरुमा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत, सहरी विकास मन्त्री अर्जुननरसिंह केसी, रक्षामन्त्री बालकृष्ण खाँण, श्रममन्त्री सूर्यमान गुरुङ, वनमन्त्री शंकर भण्डारी, उद्योग मन्त्री नवीन्द्रराज जोशी, सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकी, सिँचाइ मन्त्री दिपक गिरी, शान्तिमन्त्री सीतादेवी यादव, वाणिज्यमन्त्री रोमी गौचन थकाली, सहकारी मन्त्री हृदयराम थानी, पर्यटनमन्त्री जीवनबहादुर शाही र स्वास्थ्यमन्त्री गगन थापा रहेका छन् । यसअघि उप तथा गृहमन्त्री विमलेन्द्र निधि र भौतिक यातायात तथा पुननिर्माण मन्त्रीमा रमेश लेखकले सपथ लिइसकेका छन् ।
यी १३ मन्त्रीको नाम कांगे्रसले हिजै नै सिफारिस गरेको थियो । हिजो बिहीबार सार्वजनिक विदा परेकाले शुक्रबार विहान १३ मन्त्रीलाई सपथ गराइएको हो । पार्टी सभापति शेरबहादुर देउवा पक्षबाट डा. महत, खाँण, केसी, गुरुङ र शाही मन्त्री बनेका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेलको सिफारिसमा शान्तिमन्त्री यादव, उद्योग मन्त्री जोशी, वाणिज्यमन्त्री थकाली, सिचाइमन्त्री गिरी, सहकारीमन्त्री थानी मन्त्री भएका छन् । अर्का नेता कृष्ण सिटौलाको सिफारिसमा स्वास्थ्यमन्त्री थापा र सामान्य प्रशासन मन्त्री बुढाथोकीले सपथ लिएका हुन् । त्यसैगरी खुमबहादुर खड्काको सिफारिसमा शंकर भण्डारी वन मन्त्री भएका छन् ।
यता झापा क्षेत्र नं. ५ बाट निर्वाचित सांसद केशवकुमार बुढाथोकीले केन्द्रीय सदस्यबाट राजीनामा दिने भएका छन् । उनलाई केन्द्रीय सदस्यबाट राजीनामा दिने सर्तमा मन्त्री बनाइएको बताइएको छ । उनी सिटौलाको सिफारिसमा सामान्य प्रशासन मन्त्री बनेका हुन् ।