१५ चैत्र २०८०, बिहीबार
Follow Us

शत्रु गतेले कमायो १० करोड

sarusaru
३ बैशाख २०७५, सोमबार ०९:५६

गएको चैत ९ गतेबाट प्रदर्शन आरम्भ गरेको मल्टिस्टारर फिल्म ‘शत्रु गते’ अहिले चौथो हप्तामा प्रदर्शन भइरहेको छ । प्रदर्शनको दिनदेखि फिल्मलाई दर्शक अभाव भएको छैन । सिंगल स्कृनमा बढी चल्ने अपेक्षा गरिएको यो फिल्म मल्टिप्लेक्समा आक्रामक छ ।

उक्त फिल्म चौथो हप्तामा समेत हरेक दिन मल्टिप्लेक्सका हरेक शो हाउसफुल भएका छन् । दर्शकहरु एकपटक होइन, पटक-पटक सिनेमा घर पुगिरहेका छन् । कहिले साथी त कहिले परिवारसँग । यसको प्रभाव फिल्मको व्यापारमा परेको छ ।

‘शत्रु गते’ यतिबेला ‘छक्का पञ्जा’ ले बनाएको १६ करोडको ब्यापारिक रेकर्ड तोड्ने अन्तिम कसरतमा छ । वितरक गोपाल कायस्थले ‘शत्रु गते’ ले चौथो हप्तासम्म आइपुग्दा १० करोडमाथीको कलेक्सन गरेको जानकारी दिए ।

उनले यकिन व्यापारिक रिपोर्ट भने अहिल्यै नै दिन नसकिने बताए । उनी भन्छन्, ‘फिल्म हेर्ने दर्शकको संख्या झन् दिन प्रतिदिन बढेको बढ्यै छन् । सय दिन मनाउने लगभग कन्फर्म जस्तै छ ।’

फिल्मले चौथो हप्तामा पनि राम्रो कलेक्सन गर्दा यसको फाइदा निर्मातालाई कम हलवालाहरुलाई बढी भएको छ । चौथो हप्तामा फिल्मले गरेको आम्दानीको ३० प्रतिशत मात्र निर्मातालाई शेयर जान्छ भने ७० प्रतिशत हलवालाको खल्तीमा जान्छ ।

पहिलो हप्ता भने निर्माता र हल सञ्चालकले ५०-५० प्रतिशत शेयर बाढ्ने गर्दछन् । जति हप्ता हलमा फिल्म टिक्दै जान्छ उतिउति हलवालालाई शेयर बढ्दै जान्छ । यसरी हेर्दा ‘शत्रु गते’ चल्दा हलवाला भने यतिबेला मालामाल भएका छन् ।

‘जात्रा’ फेम निर्देशक प्रदीप भट्टराईको निर्देशनमा बनेको यो फिल्मका प्रस्तुतकर्ता किरण केसी हुन् । उक्त फिल्म मह सञ्चारको ब्यानरमा निर्माण भएको हो ।

‘शत्रु गते’ मा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, किरण केसी, दीपकराज गिरी, दीपाश्री निरौला, पल शाह, प्रियंका कार्की, आँचल शर्मा, रमेश रञ्जन झा लगायतको अभिनय रहेको छ ।