६ बैशाख २०८१, बिहीबार
Follow Us

कांग्रेस केन्द्रीय समितिको बैठक भोलि सकिने, सभापति देउवा र वरिष्ठ नेताबीच आरोप प्रत्यारोप

नेपालब्रिटेन संवाददाता
१४ बैशाख २०७५, शुक्रबार १५:४२

काठमाडौं । शनिबार सम्पन्न हुने नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल आक्रोसित रुपमा प्रस्तुत भए । उनले पार्टी सभापतिमाथि विभिन्न आरोप लगाइरहँदा पार्टी सभापति शेरबहादुर देउवाले पनि एउटा बेग्लै कार्यक्रममा वरिष्ठ नेतालाई कटाक्ष गरेका थिए । वरिष्ठ नेता पौडेलले पार्टी सभापति देउवा नेतृत्वको सरकारले गरेका गलत कामका कारण पार्टी चुनावमा हारेको आरोप लगाएका छन् । सभापतिको छवि तथा उनी नेतृत्वको सरकारले गरेका गलत कामका कारण पार्टी पराजित हुनुपरेको पौडेलले बताए ।

बैठकमा पौडेलले आफ्नो आलोचना गर्नेहरुलाई ‘विरालोलाई कुटेको देख्ने तर, बिरालोले भण्डार रित्याएको नदेख्ने भनी प्रश्न गरे । पौडेलले १३ फागुनमा लिखित प्रस्ताव पेश गर्दै देउवामाथि आरोपैआरोप लगाएका थिए । देउवाले गुट मात्र चलाएको र पार्टीलाई ध्वस्त बनाएको पौडेलको आरोप थियो ।

यता, काँग्रेसका सभापति देउवाले पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेलप्रति कटाक्ष गरे । शुक्रबार पार्टीको पर्वत सम्पर्क समितिले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै सभापति देउवा बरिष्ठ नेतामाथि खनिएका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले ‘सिद्धान्त पौडेलले मात्रै जान्ने ?’ भन्दै कटाक्ष गरेका थिए । आगामी निर्वाचनमा पार्टीलाई जिताउन सबै नेता, कार्यकर्तालाई निर्देशन दिँदै उनले आफू सिद्धान्त नजान्ने तर निर्वाचनमा पार्टीलाई जिताउन लागिपर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

गत चैत ८ गतेदेखि सुरु भएको केन्द्रीय समिति बैठक शनिबार सम्पन्न हुने भएको छ । शनिबार महामन्त्रीको राजनीतिक प्रतिवेदन पारित गर्दै बैठक सम्पन्न हुने जनाइएको छ । महासमिति बैठक र जिल्ला सभापतिहरुको भेलाको मिति तोक्नुका साथै सरकारलाई हेर्ने दृष्टिकोण र पार्टी सुधारको अभियानसमेत शनिबार सार्वजनिक गर्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । बैठकलगत्तै पार्टीको केन्द्रीय समितिलाई पूर्णता दिने तयारी भइरहेको पनि जनाइएको छ ।