१६ चैत्र २०८०, शुक्रबार
Follow Us

शत्रु गते’ले बेलायतका दर्शकको मन जित्यो

नेपालब्रिटेन डट कम्
१७ बैशाख २०७५, सोमबार २०:४९

लण्डन । नेपालमा पछिल्लो समयको सर्वाधिक सफल चलचित्र ‘शत्रु गते’लाई बेलायतका दर्शकले पनि खुब रुचाएका छन् ।

आइतबार सांझ अल्डरसटको प्रिन्सेस हलमा गरिएको शत्रु गतेको शो हाउसफुल नै भयो । ५ सय भन्दा बढि दर्शकले चलचित्र हेरेको आयोजक समहुका अनिल मल्लले जानकारी दिए ।

बेलायतस्थित नेप्लिज इन्टरटेनमेन्ट यूकेले शत्रु गतेलाई बेलायतमा ल्याएको हो ।’चलचित्रको पहिलो शोबाट हामीहरु निकै उत्साहित छौं, बेलायतका अरु शोहरुमा पनि यस्तै सकारात्मक रेस्पोन्सको आशा राखेका छौं’, आयोजक समुहका बिरेन खड्काले भने, ‘शत्रु गते हेर्न भनेर धेरै दर्शकले हप्तौं अघिदेखि टिकट बुक गरेर आएका थिए । चलचित्र हेरिसकेपछि सबैजना खुशी बनेर फर्किएका छन् ।’

चलचित्रको शो सुरु हनुअघि यस चलचित्रको निर्मातामध्येकी एक तथा कलाकार मदनकृष्ण श्रेष्ठकी पत्नी यशोधा सुवेदीको निधनमा शोक व्यक्त गर्दै एक मिनेट मौनधारण समेत गरिएको थियो ।

महजोडीले बनाएको चलचित्र शत्रु गतेलाई प्रदिप भट्टाईले निर्देशन गरेका हुन् । चलचित्रमा महजोडीका साथमा दिपकराज गिरी, दिपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आंचल शर्मा,शिवहरि पौडेल लगायतका कलाकारको मुख्य अभिनय छ ।

चलचित्रलाई बेलायतका विभिन्न क्षेत्रमा लगेर स्थानीय नेपालीहरुमाझ प्रदर्शन गर्ने आयोजकको तयारी छ । आउंदो मे ५ मा स्विण्डन र टिडवोर्थ , मे ६ मा प्लमस्टिड, मे ७ मा पिटरबरो, मे १२ मा स्कटल्याण्ड , मे १३ मा विन्चेस्टर र मे २० मा ह्यारोमा चलचित्र प्रदर्शन हुने तय भइसकेको छ ।

त्यस्तै, आसफोर्ड, फेल्थाम, वकिङ, बेजिङस्टोक, क्याटरिक, योर्क लगायतका ठाउंमा भने चलचित्र देखाइने योजना भएपनि तिथी तय हुन बांकी छ ।