४ बैशाख २०८१, मंगलवार
Follow Us

दिल्लीलाई हराउँदै चेन्नाई १३ रनले विजयी

sarusaru
१८ बैशाख २०७५, मंगलवार ०२:४९

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नाई सुपर किंग्सले दिल्ली डेयरडेभिल्सलाई १३ रनले हराएको छ । चेन्नाईले पहिले व्याटिङ गर्दै निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २११ रन बनाएको थियो । २१२ रनको लक्ष्य पछ्याएको दिल्ली २० ओभरमा ५ विकेट गुमाउँदै १९८ रन मात्र बनाउन सक्यो ।

चेन्नाईका शेन वाटसन प्लेयर अफ दि म्याच भए । ४० बल सामना गरेका उनले चार चौका र सात छक्काको मद्दतमा ७८ रन बनाए । उनी अमित मिश्राको बलमा क्याच आउट भए ।

यसैगरी कप्तान महेन्द्र सिंह धोनीले दुई चौका र पाँच छक्काको मद्दतमा २२ बलमा नटआउट ५१ रन योगदान गरे । यससँगै उनले आईपीएलमा सबैभन्दा धेरै रन बनाउने कप्तानको रेकर्ड राखे ।

यसैगरी अम्बाति रायडुले २४ बलमा ४१ र फाप डु प्लेसिसले ३३ बलमा ३३ रन बनाए । सुरेश रैना एक रनमा आउट भए ।
बलिङतर्फ अमित मिश्रा, विजय शंकर र ग्लेन म्याक्सवेलले एक–एक विकेट लिए ।

दिल्लीको खराब सुरुआत

जवाफी व्याटिङ थालेको दिल्लीको सुरुआत खराब थियो । रिसभ पन्तले ७९ र विजय शंकरले नटआउट ५४ रन बनाए पनि सुरुआती व्याट्सम्यान चल्न सकेनन् ।

पृथ्वी शा दशौं बलमा ९ रन मात्र बनाएर आउट भए । पृथ्वीको स्थानमा आएका कप्तान श्रेयस ऐयर र कोलिन मुनरोले दोस्रो विकेटका लागि ३६ रनको साझेदारी गरे । तर केएफ आसिफको बललाई सीमा कटाउने चक्करमा लाग्दा मुनरो कर्ण शर्माको हातबाट क्याच आउट भए । कोलिन मुनरोले २६ रन बनाए ।

यसअघि कोलकाता नाइटराइडर्सविरुद्ध दिल्लीलाई जिताउन अहम भूमिका निर्वाह गरेका श्रेयसको बल यसपटक भने चल्न सकेन । दिल्लीको स्कोरकार्ड ६४ रन हुँदा उनी १३ रनमा रन आउट भए । उनको स्थानमा आएका ग्लेन म्याक्सवेल ६ रनमा पेभिलियन फर्किए ।

त्यसपछि मैदान छिरेका रिसभ पन्त र विजय शंकरले पाँचौ विकेटका लागि ८८ रनको साझेदारी गरे । उनीहरुको खेल हेर्दा जित दिल्लीको पक्षमा जान्छ कि जस्तो देखिन्थ्यो । तर १८ औं ओभरको चौथो बलमा लुंगी निदीको बलमा रविन्द्र जडेजाको हातबाट उनी क्याचआउट भए । रिसभले ४५ बलमा सर्वाधिक ७९ रन बनाए ।

त्यसपछि विजय शंकर अन्तिम बलसम्म संघर्ष गरिरहे । उनले १९ ओभरमा तीन छक्का प्रहार गरे । म्याचको अन्तिम ओभरको दोस्रो बलमा पनि उनले छक्का हानेका थिए ।

अब टिमलाई जितका लागि चार बलमा १९ रन चाहिएको थियो । क्रिजमा विजय शंकर र राहुल तेवातिया थिए । तर लुंगीको कसिलो बलिङसामु उनीहरुको जोर चलेन । अन्तिम चार बलमा लुंगीले मात्र पाँच रन बनाउन दिए । विजयले ३१ बलमा ५४ रन बनाए भने राहुलले नटआउट ३ रन बनाए ।

बलिङतर्फ चेन्नाइका केएम आसिफले सर्वाधिक २ विकेट लिए ।

यो जितसँगै चेन्नाई अंक तालिकामा शीर्ष स्थानमा पुगेको छ । ८ मध्ये ६ खेल जित्दै उसले १२ अंक बटुलेको छ । दिल्ली भने अंक तालिकाको सबैभन्दा पुछारमा छ । अब उसको प्लेअफमा पुग्ने सम्भावना निकै कम छ ।