७ बैशाख २०८१, शुक्रबार
Follow Us

उपाध्याय राजदूतमा किन दोहोरिए ?

नेपालब्रिटेन डट कम्
१७ भाद्र २०७३, शुक्रबार ०७:१४

काठमाडौं । सरकारले चीन र भारतबाट उच्चस्तरीय भ्रमणलाई मध्यनजर गर्दै बिहीबार छिमेकी भारत र चीनमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । मन्त्रिपरिषद् बैठकले भारत र चीनका लागि राजदूतमा क्रमशः दीपकुमार उपाध्याय र लीलामणि पौड्यालको नाम सिफारिस गरेको हो ।
किन दोहोरिए उपाध्याय ?
भारतका लागि निवर्तमान राजदूत दीपकुमार उपाध्यायलाई सरकार परिवर्तनको खेलमा लागेको आरोप लगाउँदै तत्कालीन प्रधानमन्त्री केपी ओलीको ठाडो प्रस्तावमा फिर्ता बोलाइएको थियो । जसमा कांग्रेसले आपत्ति जनाएको थियो । सरकारले उनलाई पठाइएको पत्रमा भने कुनै अभियोग लगाइएको थिएन । माओवादी–कांग्रेस गठबन्धन सरकार गठन भएलगत्तै भारतमा उपाध्यायलाई दोहो-याउने सहमति भएको थियो । उपाध्यायले कार्यकालको एक वर्ष मात्रै काम गर्न पाएका थिए ।

पहिले राजदूत सिफारिसमा परेकाद्वारा सर्वोच्चमा रिट
सरकारको निर्णयलगत्तै सिफारिसमा परेकाहरू युवराज कार्की, शिवमाया तुम्बाहाम्फे, खड्गबहादुर केसी, नारदनाथ भारद्वाज वाग्ले, निरञ्जन थापा, खगेन्द्र बस्न्यात र भरतबहादुर रायमाझीले सो निर्णय सच्याउन माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।
सर्वोच्चले १ भदौमा फिर्तासम्बन्धी निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो । तर, चीनका लागि सिफारिसमा परेका राजदूत पाण्डेले मुद्दा दायर नगरेका कारण त्यहाँ राजदूत सिफारिस गर्न बाधा नपुग्ने निष्कर्षसहित चीनमा राजदूत सिफारिस गरिएको सरकारी स्रोतले बताएको छ ।