१६ चैत्र २०८०, शुक्रबार
Follow Us

के दीपकुमार मात्रै अक्षम हुन् ?

नेपालब्रिटेन डट कम्
१७ भाद्र २०७३, शुक्रबार ०८:०७

भारतका निम्ति पूर्वराजदूत दीपकुमार उपाध्यायलाई सरकारले पुनः राजदूत नियुक्त गरेपछि अहिले विभिन्न टिप्पणीहरू चर्चामा आएका छन् । उनलाई पूर्ववर्ती सरकारले अक्षम र राज्यविरुद्ध द्रोह गरेको आरोपमा फिर्ता बोलाएको थियो । अहिले नाकाबन्दी हटाउनमा उनको अक्षमतालाई लिएर तीखा टिप्पणी भएका छन् ।
पाँच महिना लामो नाकाबन्दीमा एक लिटर तेल र दुई बट्टा सिटामल कतैबाट किनेर ल्याउन नसक्नेहरू सक्षम तर त्यतिबेलाको एउटा राजदूत अक्षम कसरी हुन्छ ? नाकाबन्दी राजदूतले खोल्छ भनेर सरकार हात बाँधेर बसेको हो ? आफ्नो गास काटेर विदेशीहरूले पठाएको चामल खाल्टोमा गाड़नेहरू सक्षम हुन् ? चीनले अनुदानमा दिएको इंडक्शन चुलो र तेलमा समेत कालाबजारी गर्नेहरू सक्षम हुन् ?

नाकाबन्दीका बेला हाम्रो समग्र राज्यसंयन्त्र अक्षम र नालायक थियो । सबै दल र सिङ्गो संसद् अक्षम थियो । कालाबजारीलाई खुलेआम प्रश्रय दिने सरकार अक्षम थियो । सबैले नालायकपनको हिस्सा कबूल गर्दै सामूहिक राजीनामा दिऊन्, देश बन्छ ।

के अब कमल थापाहरू कहिल्यै मन्त्री हुँदैनन् ? के ओली, देउबाहरूले राजनीति छोड़छन् ?

एउटा राजनैतिक दलको झण्डा बोकेर मन्त्री बनिसकेका व्यक्ति लाई राजदूत बनाउनु गल्ती थियो । गलत संस्कारको सुरुवात थियो । र एउटा राजदूतलाई दलीय भागबन्डा मिलाउन देशद्रोहीको आधारहीन आरोप लगाएर फिर्ता बोलाउनु अर्को ठूलो गल्ती थियो । संस्मरण रहोस्, सरकारले अक्षम मात्रै भनेर फिर्ता बोलाएको भए कुरा सकिन्थ्यो । राज्यविरुद्ध षड्यंत्र गरेको आरोप लगाइएको थियो । त्यत्रो संगीन आरोप लगाएपछि सप्रमाण अदालतमा लगेर मुद्दा दायर गर्नुपर्दैनथ्यो ? त्यो षड्यंत्र के थियो भन्ने जनतालाई बताउनु पर्दैनथ्यो ? उनी देशका लागि घातक थिए भने नाकाबन्दी गर्ने देशका राजदूत देशका लागि अनिवार्य थिए ?

लीलामणिजीलाई भारत र त्यतिबेलाकै अनुभवी राजदूत महेश मास्केलाई चीनमा निरन्तरता दिएको भए राम्रो हुन्थ्यो । दीपकुमार अक्षम थिए, यसमा कुनै शङ्का थिएन, हामिसित आजसम्म सक्षम राजदूत छैनन् । तर सरकारले जस्तो आधारहीन आरोप लगाएर उनको चरित्र र व्यक्तित्व सिध्याउने प्रयास गरेको थियो, सरकारले नै त्यसलाई सच्याएको छ ।