१५ चैत्र २०८०, बिहीबार
Follow Us

पहिराले तीन जनाको मृत्यु

नेपालब्रिटेन डट कम्
१८ भाद्र २०७३, शनिबार ०६:४७

ताप्लेजुङ । गए रातिको भीषण वर्षासँगै माथिबाट झरेको पहिराले घर भत्किएर पुरिँदा ताप्लेजुङ नगरपालिका–२ का एकै परिवारका तीन जनाको घरभित्रै पुरिएर ज्यान गएको छ ।

अन्य क्षेत्रको पहिरामा परी एक महिला बेपत्ता भएकी छन् भने अर्की एक महिला घाइते भएकी छन् । घरभित्रै पुरिएर मृत्यु हुनेमा टीका मगरकी श्रीमती विमला, छोरा मनोज र ललित छन् । उनीहरु घरमा सुतिरहेको अवस्थामा माथिबाट पहिरो झरेर घर भत्काएको थियो । राति नै पहिराले घर भत्किएको स्थानीयवासीले थाहा पाए पनि रातको समयमा भीषण वर्षाकै कारण उद्धार हुन सकेको थिएन । उनीहरुको शव अहिले बिहान नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले निकालेको प्रजिअ चक्रपाणि पाण्डेले जानकारी दिनुभयो ।

यस्तै ताप्लेजुङ नगरपालिका–८ मा पहिरो झरेपछि भाग्ने क्रममा एक महिला बेपत्ता भएकी छन् । नाम नखुलेकी माइली सुब्बा भनेर चिनिने महिला बेपत्ता भएकी हुन् भने उनीसँगै बस्दै आएकी कान्छी सुब्बा भनेर चिनिने अर्की महिला घाइते भएकी छन् ।
पहिराका कारण त्यहाँका दर्जनौँ घरमा क्षति पुगेको छ । ठाउँ ठाउँमा पहिरो झरेपछि मेची राजमार्ग समेत अवरुद्ध बनेको छ । पहिराका कारण नगरपालिका–८ का भुवानीशङ्कर नेपाल, अग्निप्रसाद भण्डारी, टेकनाथ दाहाल, डिल्लीराम अधिकारी, राजकुमार मगर, जगतबहादुर मगर, गुरुप्रसाद विक, सोमबहादुर विक र गङ्गामाया भट्टराईको घरमा क्षति पुगेको छ ।

यस्तै नगरपालिका–२ केनिममा नेत्रप्रसाद भट्टराईसहित अन्य छ घरमा पहिराले क्षति पु¥याएको स्थानीयवासीले बताएका छन् । सोही क्षेत्रमा नै पर्ने अँधेरी भन्ने ठाउँमा दुवैतर्फ पहिरो झरेपछि त्यहाँका तीन परिवार सुरक्षित स्थानमा निस्कन नसकेको बताइएको छ ,
गए राति करिब १ बजेदेखि झरेको पहिराले नगरपालिका–९ सदरमुकाम नजिकैको कफी हाउस क्षेत्रका १० घरमा समेत क्षति पु¥याएको स्थानीयवासी गणेश नेपालले बताउनुभयो । सो स्थानका बासिन्दा अहिले सुरक्षित छन् ।

पहिराले ती स्थानका बासिन्दाका गाई, भैँसी लगायत घरमा क्षति पु¥याए पनि मानवीय क्षति भएको खबर भने नआएको प्रजिअ चक्रपाणि पाण्डेले बताउनुभयो ।

पहिरोग्रस्त क्षेत्रमा पुग्न सडक अवरुद्ध रहेकाले उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली अहिले परिचालन गरिएको छ । पहिरो गएका कारण स्थानीयावासी रातभर सुरक्षित स्थानमा जाग्राम बसेका थिए । अहिले पनि त्यस क्षेत्रमा वर्षा जारी छ भने पहिरो पनि झरिरहेको स्थानीयवासीले टेलिफोन मार्फत बताएका छन् ।
उद्धार गर्न कठिनाइ भएका क्षेत्रको पहिचान गरी ती क्षेत्रमा रहेका बासिन्दा उद्धार गर्न थप उपायका बारेमा सोचिरहेको र अहिले पनि सुरक्षा निकायका सबै संयन्त्रबाट र स्थानीयवासीबाट उद्धार गर्ने कार्य जारी रहेको प्रजिअ पाण्डेको भनाइ छ ।
पहिराले धेरैका घरमा क्षति पु-याएसँगै दर्जनौ पशु चौपाया बगाएको छ भने खेतबारी नै बगाएपछि नगरपालिकावासीमा रुवाबासी नै चलेको छ । नगरपालिका –२ र ८ का विभिन्न क्षेत्रमा अहिले वर्षा रोकिए पनि पहिरो झर्ने क्रम भने अझै नरोकिएको स्थानीयवासी रुपनारायण भट्टराईले बताउनुभयो । थप विवरण सङ्कलन भइरहेकाले क्षतिको यकिन विवरण आउन बाँकी रहेको छ ।

– सन्तोष पुर्कुटी