७ बैशाख २०८१, शुक्रबार
Follow Us

सिटी सेन्टरमा रीमासँगै झुमे दर्शक

नेपालब्रिटेन डट कम्
१८ भाद्र २०७३, शनिबार १४:३६

काठमाडौं । शपिङ गर्न र घुम्न आएकाहरु शनिबार कमलपोखरीस्थित सिटी सेन्टरमा तीज गीतमा मज्जाले रमाए । शनिबारे पुर्सद निकालेर त्यहाँ सिटी सेन्टर पुगेका उनीहरु दर्शकमात्र भएनन्, धितमरुञ्जेल नाचे पनि । गायिका निशा देसारले ‘माइती घर’ बोलको आफ्नो तीज गीत प्रस्तुत गर्दा उनीसँगै महिला दर्शकले पनि माइती सम्झिँदै नाचे । ‘जमाना खराब छ’ र ‘अजनबी’ जस्ता गजलमार्फत चीम्कएकी निशाले आफ्नो पछिल्लो पप गीत ‘लत लाग्यो’ गाउँदा दर्शक उनीसँगै झुमे ।
हो, तीजको पूर्वसन्ध्यामा आयोजित ‘तीज विशेष कार्यक्रम’ मा गायिका निशाले मात्र नभएर अभिनेत्री तथा मोडल रीमा विश्वकर्मालगायतका दर्जनौ कलाकारले तीज गीतमा गाएर तथा नाचेर मनोरञ्जन प्रदान गरे । गायिका लाक्पा भुडियाको संयोजत्वमा आयोजित कार्यक्रममा रीमाले ‘आजभोली’ र तीज रिमिक्समा धमाका मच्चाइन् । रीमाले यसपालीको तीजलाई विशेष रुपमा लिएकी छन् । बैवाहिक जविनमा बाँधिएपछि यो उनको पहिलो तीज हो । तीज महिला दिदी–बहिनीसँग रमाउन पाउँदा आफ्नो मन फुरुंग हुने रीमाले बताइन् ।
कार्यक्रममा संयोजकसमेत रहेकी लाक्पाले आफ्नो नयाँ तीज गीत ‘झिल्के सारी’ र ‘चौबन्दीमा पटुकी’ लगायत गाइन् । योजना पुरी, अनु ढकाल, नित्यसिवालगायतका गायिकाहरुको सहभागिता रहेको कार्यक्रममा परिवर्तन नेपाललगायतका कलाकारले तीज गीतमा नृत्य प्रस्तुत गरेका थिए ।
सिटी सेन्टरकै मुख्य प्रायोजनमा आयोजित यस तीज विशेष कार्यक्रम दुई चरणमा गरिएको थियो । बिहान ११ बजे सुरु भएको कार्यक्रम साँझ ६ बजेसम्म चलेको थियो । नेपाली नारीका विशेष पर्व तीजको शुभकामना प्रदान गर्न कार्यक्रम आयोजना गरेको संयोजक तथा गायिका लाक्पाले बताइन् ।