१५ चैत्र २०८०, बिहीबार
Follow Us

भवन अभावमा चौरमै पढाई

sarusaru
१३ जेष्ठ २०७५, आईतवार ११:१५

काठमाण्डौ – भवन अभावमा बागलुङको ढोरपाटनका बालबालिकाहरु विद्यालयको चउरमै बसेर पढ्न बाध्य छन् । भौगोलिक कठिनाईले भवन निर्माण गर्न नसकिएको, भएका भवन जीर्ण र पर्याप्त नभएपछि बालबालिकाले खुला आकासमै बस्न बाध्य भएका हुन् । ढोरपाटन जनवादी आधारभूत विद्यालयमा कक्षा कोठा नभएपछि यस्तो समस्या भएको हो । बालबालिकाहरु भएका कक्षा कोठामा अट्न पनि नसकेपछि बाहिर पढाउनुको बिकल्प नभएको प्रअ देवबहादुर सुनारले बताए । कक्षा १ देखि ८ सम्म पढाई हुने यो विद्यालयमा ४ सय बढी बालबालिका पढ्छन् । तर यो विद्यालयमा ५ वटा मात्र कक्षा कोठा छन् ।
ती पनि जीर्ण र फर्निचरविहिन अवस्थामा भएकोले बालबालिकाले पढ्ने लेख्ने काममा सास्ती भोग्नुपरेको हो । बिहान बिद्यालय पुग्दा घाम लाग्यो भने खुला आकासमा बसेर पढ्नुपर्छ । पानी प¥यो भने एउटै कोठामा कोचाकोच गरेर अट्न सक्नेले पढ्छन्, नसकेकाहरु फर्कन बाध्य छन् । ढोरपाटन नगरपालिका ७ मा रहेको यो विद्यालय अस्थायी विद्यालय हो । ढोरपाटनमा हिउँदमा हिउँ पर्ने भएकोले गर्मी लागेपछि मात्र अभिभावकसंगै बालबािलकाहरु पनि आउने गर्छन् ।
त्यसैले गर्मी मौषममा मात्र यहाँका विदालयमा पढाई हुने गरेको हो । यो विद्यालयको जाडोमा पढाई हुने भवन बोबाङ गाउँमा छ । गर्मी चढेपछि अभिभावकहरु पशुचरन र खेतीका लागि ढोरपाटन र बुकी लेकमा जाने भएकोले बालबालिकालाई ढोरपाटनमै बिद्यालय खोलीएको हो । यो विद्यालय फागुनदेखि कात्तिकसम्म ढोरपाटनमा रहन्छ । जाडो मौषममा भने हिउँ पर्ने भएकोले अभिभावक पशुबस्तु समेत लिएर बेसी झर्छन् । उनीहरुसँगै बालबालिका पनि झरेपछि ढोरपाटनको विद्यालय बन्द हुन्छ र तल्लो बिद्यालय संचालनमा आउँछ । शिक्षक र अभिभावकले पटक–पटक सदरमुकाम पुगेर भवन तथा फर्निचरको व्यवस्थापन गर्न नसकेपछि सास्ती खेपेर पढाई भैरहेको शिक्षकहरु गुनासो गर्छन् । मौषममा दैनिक बदली भएर पानी परेपछि केही बालबालिका अन्य कोठामा पसेर ओत लाग्छन् भने कोही भागेर घर जानै पर्ने बाध्यता हुने गरेको समेत सुनारले बताए ।
बालबालिकाले पनि पढाईलाई पहिलो प्राथमिकतामा राख्न नपाएको उनले बताए । अभिभावक सँगै काम गर्दा बालबालिकाहरुले नियमित पढाईका लागि आउन समेत पाउँदैनन् । विद्यालयमा ३ जना मात्र शिक्षकको दरबन्दी छ । दैनिक ज्याला मजदुरी गर्ने र पशु चराएर जीवन बिताएका अभिभावकले समेत चन्दा उठाएर अरु ५ जना शिक्षक पालेका छन् । उनीहरुलाई पनि सामान्य तलबमा राखिएको हो । ‘अभिभावकले पैसा तिर्न सक्दैनन्, कमाई पनि छैन’ सुनारले भने, ‘सदरमुकाम र सुविधा सम्पन्न विद्यालयलाई हेरेर हामीलाई व्यवहार गरिंन्छ ।’ त्यस्तो व्यवहारले गुणस्तर वृद्धि गर्न नसकेको उनले बताए ।
सदरमुकामका विद्यालयलाई दिने अनुदान तथा भवनको लागत १ सय ३० किमी पश्चिमको ढोरपाटनमा पनि उत्तिकै हुनु निकै चुनौती भएको अर्का शिक्षक थमप्रकाश जैसीले बताए । ‘सदरमुकाममा घर बन्ने पैसाले हामीले सामाग्री ढुवानी गर्न पनि सक्दैनौं’ जैसीले भने, ‘राज्यको आँखाले यहाँको समस्या देख्न सकेको छैन ।’ कुनैपनि कक्षा कोठामा बस्ने बेञ्च नपुग्ने भएपछि बालबालिकाले चप्पल बिच्छाएर बस्छन् । दिनभरी धुलोले पुरिएका बालबालिका जाडोको कारण नुहाउने र सरसफाई गर्न समेत सक्दैनन् । यहाँ स्वास्थ्य चौकी र औषधि अभाव भएकोले उपचारका लागि बुर्तिवाङ पुग्नुपर्छ ।