१५ चैत्र २०८०, बिहीबार
Follow Us

नेपाली क्रिकेटमा लगाइएको प्रतिबन्ध हटाउन आइसिसी सहमत

नेपालब्रिटेन डट कम्
१९ भाद्र २०७३, आईतवार १४:०१

काठमाडौं । लामो समयदेखि क्रिकेट सङ्घको विवाद समाधान गर्न नेपाल क्रिकेट सङ्घ (क्यान) विघटन गरी नेपाल क्रिकेट विकास बोर्ड गठन गरिने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल र युवा तथा खेलकुदमन्त्री दलजित श्रीपालीसँग नेपाल भम्रणमा रहेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आइसिसी)का कार्यकारी अधिकृत डेभिड रिचार्डसनसहित तीन सदस्यीय प्रतिनिधमण्डलको आज भएको छलफलपछि बोर्ड गठन गर्ने सहमति भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्रीले नेपालमा क्रिकेटको लोकप्रियता बढ्दो क्रममा रहेको र आइसिसीले क्यानमा प्रतिबन्ध लगाएका कारण क्रिकेट क्षेत्र समस्या परेकाले प्रतिबन्ध खोल्न आग्रह गर्नुभएको थियो ।

छलफलमा अहिलको कायम रहेको क्यान विघटन गरी छ सदस्यीय बोर्ड गठन गर्ने सहमति भएको भेटमा सहभागी राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव विष्टले जानकारी दिनुभयो । तत्काललाई बोर्डको सल्लाहकार सदस्यको नाम आज वा सोमबारसम्ममा टुङ्गो लाग्ने गरी काम अगाडि बढाइएको उहाँको भनाइ छ ।

तीन महिनाभित्र बोर्डले पूर्णता पाउने र पूर्ण सदस्यको चयन गरिने बताइएको छ । बोर्ड गठन भएलगत्तै आइसिसीले नेपाली क्रिकेटमाथि लगाउँदै आएको प्रतिबन्ध हटाउने र दिँदै आएको आर्थिक लगायत अन्य सहयोग पुनः दिइने कार्यकारी निर्देशक रिचार्डसनले प्रधानमन्त्रीलाई जानकारी गराउनुभएको थियो ।