१३ बैशाख २०८१, बिहीबार
Follow Us

मोहम्मद मस्तकिम त्रिभुवन विमानस्थलबाट पक्राउ

नेपालब्रिटेन डट कम्
२० भाद्र २०७३, सोमबार १५:१८

काठमाडौं । नेपाल र भारतमा दर्जनौ ब्यक्तिको हत्याका आरोपी मोहम्द मस्तकिम भनिने रईस मियालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । सप्तरीमा चार र सुनसरीका तीन जनाको हत्याका आरोपी उनलाई बैदेशिक रोजगारीका लागि जाने क्रममा आईतवार त्रिभुबन अन्तर्राष्ट्रिय बिमानस्थलबाट पक्राउ गरिएको सप्तरीका प्रहरी प्रमुख एसपी भिमप्रसाद ढकालले जानकारी दिए । बिहार राज्यको मधुवनी जिल्ला अन्तरगत लौकहा बगमरिया घर भएका उनीमाथि बिहारमा एक दर्जन भन्दा बढी हत्याको मुदा दायर छ ।
सप्तरी जिल्ला प्रशासन कार्यालयबाट नेपाली नागरिकता लिएका मिया सप्तरीको सारस्वर गाबिसमा बस्दै आएका थिए । बिमानस्थल प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएका रईसलाई सप्तरी लगेर जिल्ला प्रहरी कार्यालयमा सोमवार पत्रकार सम्मेलन गरेर सार्बजनिक गरियो । रईससहितको समूहले सप्तरीमा २०६९ सालमा सहबुद मियाँ र उनकी बुहारी सगिरा खातुन, ०७० सालमा जण्डौल–६ की दुलारी देवी साह र त्रिकोल गाबिस–५ की निर्मलादेवी साहको हत्या गरेको प्रहरीको आरोप छ ।
यस्तै, रईस सुनसरी सदरमुकाम इनरुवामा एकै परिवारका तीन जनाको हत्या भएको घटनामा समेत संलग्न रहेको ढकालले जनाए । लामो समयदेखि फरार रहेका रईस नेपाली नागरिकता र राहदानी बनाई रोजगारीका लागि बिदेश गइरहेको सुचनापाएपछि प्रहरीले पक्राउ गरेको हो ।