१४ बैशाख २०८१, शुक्रबार
Follow Us

वर्तमान अवस्थामा संघीय सरकारमा जाँदैनौः महतो

sarusaru
२७ जेष्ठ २०७५, आईतवार ११:४८

विरानगर। राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले वर्तमान अवस्थामा पार्टी संघीय सरकारमा सहभागी नहुने बताएका छन्।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मी सामु उनले संविधान संशोधनका विषयमा लिखित प्रस्ताव आएमा मात्र सरकारमा जाने प्रष्ट पारे।

अध्यक्ष मण्डलका सदस्य महतोले संविधान संशोधनका विषयमा विगतमा छ महिनासम्म पार्टीले आन्दोलन गरेको स्मरण गराउँदै वर्तमान सरकारमा सहभागिता भन्दा पनि राजपाको मुख्य एजेण्डा संविधान संशोधन नै भएको र सरकारमा सहभागी नभए पनि बाहिरबाट समर्थन भने दिइरहेको उल्लेख गरे।

संविधान संशोधनका विषयमा नेपाल कम्युनिष्ट पार्टीसँग विगतमा पटक पटक वार्ता भए पनि कुनै विश्वासिलो वातावरण तयार नभएको बताउँदै उनले संविधान संशोधन आश्वासनका रुपमा होइन लिखितरुपमा आउनुपर्ने धारणा व्यक्त गरे।

नेता महतोले प्रदेश नं २ का जनताको आन्दोलन र मतबाट निर्माण भएको प्रदेश सरकारबाट राजपा अलग नहुने पनि प्रष्ट पारे। उनले आफ्नो पार्टीप्रति जनताको विश्वास रहेकाले जनताको भावनाविरुद्ध राजपाले कुनै पनि निर्णय नलिने उल्लेख गरे।

पत्रकारको जिज्ञासामा नेता महतोले अहिले प्रदेश नं २ को सरकारबाट नहट्ने पार्टीको आधिकारिक निर्णय भएको, कार्यकारिणी राष्ट्रपति प्रणालीका सम्बन्धमा संघीय संसद्मा कुनै छलफल नभएको र राजपा संसदीय प्रणालीप्रति समर्पित पार्टी भएको बताए।
डिसी नेपाल