६ बैशाख २०८१, बिहीबार
Follow Us

समृद्धि नै एक मात्र अभीष्ट हो ; अध्यक्ष दाहाल

sarusaru
२९ जेष्ठ २०७५, मंगलवार ०३:१६

बर्दिवास- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समृद्धि नै मुलुकका सामु एक मात्र अभीष्ट रहेको बताउनुभएको छ ।

नेकपा महोत्तरीले आज जलेश्वरमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अब कुनै बहाना र अप्ठ्यारो देखाएर समृद्धि अभियानबाट निस्कने अवस्था नरहेको बताउनुभयो । “मुलुकमा दुई तिहाइ बहुमतको सरकार छ, सात प्रदेशमध्ये छ प्रदेशमा हाम्रो पार्टीको सरकार छ”,अध्यक्ष दाहालले भन्नुभयो, “अब मुलुकको पछौटेपन अन्त्य गर्न नसकेको कुनै बहाना देखाउने छुट हामीलाई छैन ।”

स्थानीय तह, प्रदेश र सङ्घीय सरकारमा पार्टीको बलियो उपस्थिति रहेको अहिलेको बेला सम्पूर्ण पार्टी पंक्तिका लागि खास अवसर रहेको उहाँको टिप्पणी थियो ।

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले अब चाँडै जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता पाउने कानुनी आधार तयार गर्न सरकार लागिपरेको बताउनुभयो । यद्यपि कुनै अङ्गीकृत नागरिक मुलुकको उच्च पदमा जान पाउने कुरामा आफ्नो पार्टी र सरकार नरहेको उहाँले स्पष्ट पार्नुभयो ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले वर्तमान सरकार रुग्ण बनाइएका उद्योग पुनःसञ्चालनमा ल्याउन र ग्रामीण भेकमा लघुउद्योग स्थापना गरेर रोजगारीका नयाँ सम्भावना बढाउन प्रतिबद्ध रहेको बताउनुभयो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले महोत्तरीसहितका प्रदेश नं २ को पछौटेपन अन्त्य गर्न शिक्षालाई मुख्य प्राथमिकतामा राखेर सरकार अघि बढेको बताउनुभयो । सो अवसरमा अध्यक्ष दाहालले जलेश्वर नगरपालिका–२ का वडाध्यक्ष वरुणकुमार दाहाल, राजनीतिक सामाजिक अगुवा राजकिशोर साह (नब्बा सिंह)सहित २०१ जनालाई पार्टी प्रवेश गराउँदै स्वागत गर्नुभएको थियो ।
रासस