१६ चैत्र २०८०, शुक्रबार
Follow Us

ट्रेड युनियन काँग्रेसको निर्वाचन आज

sarusaru
१ असार २०७५, शुक्रबार ०२:२९

काठमाडौँ – काठमाडौँ । नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन काँग्रेसको बन्दसत्र सम्पन्न भएको छ।

चार वर्ष नौ महिनापछि भएको महाधिवेशनको बन्दसत्रमा सरकारले सञ्चार क्षेत्रमा गरेको ज्यादती, यातायात एकाधिकारको नाममा मजदूर र पूँजीलाई नियन्त्रण गर्न खोजेको, निर्माण क्षेत्रका मजदूरलाई गरेको व्यवहारलगायत मजदूरविरुद्ध चालिएका कदमविरुद्ध सशक्त आन्दोलन गर्ने निर्णय गरेको छ।

ट्रेड युनियन काँग्रेसका अध्यक्ष खिलानाथ दाहालले ट्रेड युनियनलाई श्रमिकहरुको संगठनका लागि उभ्याउन सबैलाई समेटेर अगाडि बढ्नु अहिलेको आवश्यकता भएको बताए।

बिहीबार भएको बन्दसत्रमा झण्डै १५० प्रतिनिधिले आफ्नो राय तथा सुझाव राखेका थिए। अध्यक्ष दाहालले प्रतिनिधिले दिएका सुझावलाई एकीकृत गरेर ट्रेड युनियन आन्दोलनलाई अगाडि बढाउने उल्लेख गरेका थिए।

ट्रेड युनियनको निर्वाचन भने शुक्रबार हुने भएको छ। निर्वाचनका प्रमुख निर्वाचन अधिकृत भरत खरेलले निर्वाचनको कार्य शुक्रबार बिहान ७ बजेदेखि सञ्चालन गरिने जानकारी दिए।

सत्र पदाधिकारीसहित ४४ पदमा हुने निर्वाचनमा देशैभरबाट एक हजार ४२० जनाले मताधिकारको प्रयोग गर्नेछन्।
रासस