१४ बैशाख २०८१, शुक्रबार
Follow Us

ट्रेड युनियन कांग्रेसमा पुष्कर आचार्य प्यानल विजयी

नेपालब्रिटेन संवाददाता
२ असार २०७५, शनिबार ०६:५४

काठमाडौं । ट्रेड युनियन कांगे्रसको अध्यक्षमा पुष्कर आचार्य प्यानल विजयी भएको छ । एक सदस्यबाहेक आचार्यको प्यानल नै विजयी भएको हो । अध्यक्ष पदमा आचार्यले खिलानाथ दाहाललाई २ सय ८२ मत अन्तरले पराजित गरेका हुन् । आचार्यले ८१८ मत ल्याउँदा दाहालले ५२६ मत मात्र पाए । आचार्य वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका मानिन्छन् । पौडेल समूहलाई अर्का नेता कृष्णप्रसाद सिटौलाले साथ दिएका थिए ।

१७ पदाधिकारीसहित नयाँ नेतृत्व चयन भएको छ । युनियनमा १४२० मत रहेकोमा अधिवेशनमा १३ सय ९२ मत खसेको थियो । खुला केन्द्रीय सदस्यमा दाहाल समूहबाट धु्रवचन्द्र गौतम मात्र विजयी भए । आचार्य समूहबाट प्रमोद जोशी मात्र सदस्यमा पराजित भए ।

यसैगरी वरिष्ठ उपाध्यक्षमा महेन्दप्रसाद यादव विजयी भएका छन् । उनले अयोध्याप्रसाद यादवलाई २०१ मत अन्तरले पराजित गरे । महेन्द्रप्रसादले ६६८ मत ल्याउँदा अयोध्याले ५६७ मत मात्र ल्याए । उपाध्यक्ष खुलातर्फ अजयकुमार राई र तेजेन्द्रजंग कार्की विजयी भएका छन् । राईले ७७० र कार्कीले ७९८ मत ल्याएका थिए ।

महिला उपाध्यक्षमा इन्दिरा सापकोटाले ७२२ मत ल्याएर विजयी भइन् । उनले कल्पना अधिकारीलाई पराजित गरेकी हुन् । अधिकारीले ५९६ मत मात्र ल्याइन् । सेवातर्फको उपाध्यक्षमा नेत्रविक्रम थापाले शंकल लामिछानेलाई पराजित गरे । थापाले ७६१ मत ल्याउँदा अधिकारीले ५९६ मत मात्र ल्याएर । यी दुवैको मतअन्तर २३३ हुन आउँछ ।

यस्तै उत्पादनतर्फको उपाध्यक्षमा ललितबहादुर श्रेष्ठ विजयी भए । उनले युवराज लामालाई ३३८ मतले पराजित गरे । श्रेष्ठले ८०८ मत ल्याउँदा लामाले ४७० मत मात्र ल्याए । अनौपचारिक तथा स्वरोजगार उपाध्यक्षमा आशासिंह राठोरले नुरमोहम्मद रैनलाई पराजित गरे । राठौरले ७४२ मत ल्याउँदा रैनले ४९० मत ल्याए । यी दुवैको मत अन्तर २५२ मत हुन आउँछ ।

यसैगरी महासचिवमा योगेन्द्रकुमार कुँवर विजयी भएका छन् । उनले सञ्जयप्रसाद मिश्रलाई पराजित गरेका हुन् । कुँवरले ७४९ मत ल्याउँदा मिश्रले ५५१ मत ल्याए । उनीहरुबीच १९८ मत हुन आउँछ ।

उपमहासचिवमा ज्योति कोइराला र गणेशबहादुर केसी विजयी भएका छन् । उनीहरुले काजीमान श्रेष्ठ र जनार्दनराम निरौलालाई पराजित गरेका हुन् । कोइरालाले ७३० र केसीले ७११ मत ल्याएका थिए ।

महिला उपमहासचिवमा राधिका कुइकेल विजयी भएकी छन् । कुइँकेलले ८२४ मत ल्याउँदा पराजित उम्मेदवार कमला लामिछानेले ६६९ मत मात्र ल्याइन् । उनीहरुबीचको मतअन्तर ३५५ हुन आउँछ ।

सेवा क्षेत्रको उपमहासचिवमा सीताराम अवस्थी विजयी भएका छन् । उनले रन्जन थापालाई पराजित गरेका हुन् । अवस्थीले ८११ मत ल्याएका थिए भने थापाको पक्षमा ५४३ मत परेको थियो ।

उपमहासचिव अनौपचारिक तथा स्वरोजगार क्षेत्रमा राजेश पाखिले विजयी भए । उनले ७१५ मत प्राप्त गरे । प्रतिस्पर्धी आत्मराम पौडेलले ५५९ मत प्राप्त गरे । उनीहरुबीचको मत अन्तर १५६ भयो ।

कोषाध्यक्षमा मोहनकुमार बस्नेत विजयी भए । उनले ७६६ मत प्राप्त गरे । कोषाध्यक्षका अर्का प्रतिस्पर्धी ऋषमदेव घिमिरेले ५५३ मत प्राप्त गरे । सहकोषाध्यक्षमा सुशीला घिमिरे विजयी भइन् । उनले ७९६ मत प्राप्त गरिन् । अर्का प्रत्यासी ताराकुमारी राईले ५१६ मत मात्र प्राप्त गरिन् ।