१४ बैशाख २०८१, शुक्रबार
Follow Us

उपाधि रक्षा गर्ने अभियानमा जर्मनी

sarusaru
३ असार २०७५, आईतवार ०६:२७

मस्को : सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपको उपाधि जितेयता जर्मनीको राष्ट्रिय टोलीमा धेरै परिवर्तन भएको छ । सिनियर प्राय: खेलाडीले सन्न्यास लिएका छन् । फाइनलमा अर्जेन्टिनाविरुद्ध निर्णायक गोल गर्ने खेलाडी मारियो गोन्चे यसपटक टोलीमा परेनन्।

जर्मन टोलीमा पछिल्लो चार वर्षको अवधिमा परिवर्तन नभएको प्रशिक्षक जोएचिम लोय र सफलता मात्रै हुन् । जर्मनीलाई विश्वकप उपाधि दिलाएपछि प्रशिक्षक लोयले गत वर्ष युवा खेलाडीको साथमा कन्फिडेरेसन कपको उपाधि पनि जिते । प्रतिभाशाली खेलाडी लिएर आएको जर्मनीले यसपटक उपाधि रक्षा गर्ने रणनीति बनाएको छ । जर्मनीले त्यसको सुरुआत आइतबार राति समूहगत चरणको आफ्नो पहिलो खेलमा क्रोएसियाविरुद्ध खेल्नेछ ।

प्रतियोगिता सुरु हुनुपूर्व जर्मनी निकै बलियो देखिएको छ । जर्मनीले रुस विश्वकप यात्रा तय गर्न युरोपेली छनोट प्रतियोगितामा खेलेको १० मध्ये सबै खेलमा जित हात पारेको छ । त्यस क्रममा ४३ गोल गर्दा मात्रै चार गोल बेहोरेको छ । आफ्नो क्षमताअनुसारको प्रदर्शन गरेको अवस्थामा जर्मनी उपाधि रक्षा गर्न सक्षम हुनेछ । त्यसअघि जर्मनीलाई पहिलो खेलमै मेक्सिकोको बलियो चुनौतीको सामना भने गर्नुपर्नेछ ।

मेक्सिकोले उत्तर र मध्य अमेरिका तथा क्यारेबियन क्षेत्रको छनोट प्रतियोगिताको शीर्ष स्थानमा रहँदै रुस विश्वकपको यात्रा पक्का गरेको टोली हो । मेक्सिकोले रुस विश्वकपको तयारीस्वरूप खेलेको पछिल्ला खेलमा पनि सशक्त प्रदर्शन गरेको छ । रुस विश्वकपको तयारीस्वरूप खेलिएका आठमध्ये चार खेलमा जित हात पारेको छ । दुई खेलमा बराबरी खेल्दा दुई खेल भने गुमाएको छ ।

यी दुई टोलीबीच यसअघि भएका प्रतिस्पर्धामा भने जर्मनी निकै बलियो देखिएको छ । विश्वकप फुटबलमा मेक्सिकोविरुद्ध तीनपटक प्रतिस्पर्धा गर्दा जर्मनी अपराजित छ । दुईमा जित तथा एक खेलमा बराबरीको नतिजा निकालेको छ । यस्तै महादेशीय प्रतियोगिता कन्फिडेरेसन कपमा भएको दुई भेटमा पनि जर्मनी विजयी बनेको छ । मैत्रीपूर्ण खेलसमेत जोड्दा जर्मनी समग्रमा ६ खेलमा विजयी छ ।

प्रतियोगिताअन्तर्गत आइतबार नै कोस्टारिका र सर्भियाले पनि प्रतिस्पर्धा गर्दैछन् । समूह ‘ई’अन्तर्गत सामरा एरेनामा नेपाली समयअनुसार ५:४५ बजे खेल सुरु हुनेछ । समूह ‘ई’मा ब्राजिल र स्विट्जरल्यान्ड बलिया टोली रहेकाले प्रतियोगिताको अन्तिम १६ मा पुग्न सर्भिया र कोस्टारिका दुवैलाई आफ्नो पहिलो खेल जित्नुपर्ने दबाब छ । रुस विश्वकपको भेट यी दुई टोलीबीच कुनै पनि प्रतियोगितामा पहिलो हुनेछ । यसअघि सर्भिया र कोस्टारिकाले कुनै पनि प्रतियोगितामा एकअर्काविरुद्ध खेलेका छैनन् ।

विगतमा दुर्इ टोली

कुल खेल : ११

जर्मनी विजयी : ६

मेक्सिको विजयी : १

बराबरी : ४

मार्काे रेयस, जर्मनी

जर्मन फुटबलमा देखिएका उत्कृष्ट प्रतिभामध्येका हुन्, स्ट्राइकर मार्काे रेयस । तर, त्योभन्दा बढी उनी अभागी खेलाडी पनि हुन् । बोरुसिया डोर्टमुन्डबाट घरेलु फुटबलमा धेरै अघिबाट सशक्त प्रदर्शन गर्दै आइरहेका रेयसले राष्ट्रिय टोलीमा पनि धेरै अघिबाट आफ्नो स्थान सुरक्षित गरेका थिए ।

दुर्भाग्य कस्तो भइदियो भने रेयस नियमित रूपमा चोटग्रस्त बनिरहे । चोटका कारण छनोट भएर पनि उनले धेरै अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाए । त्यसमध्ये महŒवपूर्ण प्रतियोगिता थियो— सन् २०१४ को विश्वकप फुटबल र सन् २०१६ को युरोकप फुटबल । यी दुवै प्रतियोगिताका लागि राष्ट्रिय टोलीमा छनोट भएर पनि रेयस सहभागी हुन पाएनन् । तर, जर्मन टोलीले उनको क्षमता र मेहनत बुझेको थियो । त्यही भएर ब्राजिल विश्वकपमा टोलीले उपाधि जित्दा ट्रफी ग्रहण गर्ने समयमा टोलीलाई उपाधि दिलाउन निर्णायक गोल गरेका मारियो गोच्चेले रेयस लेखेको जर्सी लगाएका थिए ।

चोटकै कारण सन् २०११ को अक्टोबरमा जर्मन राष्ट्रिय टोलीबाट डेब्यु गरेका रेयसले अहिलेसम्म मात्रै ३१ खेल खेलेका छन् । त्यसमा नौ गोल पनि गरेका छन् । व्यक्तिगत रूपमा धेरै अवसर र राष्ट्रिय टोलीबाट दुई ठूला प्रतियोगिता गुमाएपछि रेयस यसपटक भने रुस विश्वकपका लागि आइपुगेका छन् । उनी देशका लागि धेरैभन्दा धेरै योगदान पु¥याउँदै यो अवसरको सदुपयोग गर्न चाहन्छन् । त्यसैले जर्मनीले यसपटक चार वर्षअघि जितेको उपाधि रक्षा गर्ने योजना बनाउँदा टोलीलाई सो योजनामा सफल बनाउन रेयसको भूमिका महत्वपूर्ण हुने पक्का छ ।
अन्नपूर्ण पोष्ट