७ बैशाख २०८१, शुक्रबार
Follow Us

अफ्रिकन फिल्मकर्मीहरु काठमाडौंमा

नेपालब्रिटेन डट कम्
२१ भाद्र २०७३, मंगलवार १४:४६

काठमाडौं । करिब एक दर्जन अफ्रिकी फिल्मकर्मी तथा प्रोफेसरहरु काठमाडौमा आइपगुेका छन् । उनीहरु कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेसन ‘सीजेएमसी’ले आयोजनामा हुन गइरहेको ‘नेपाल–अफ्रिका फिल्म फेस्टिवल’ मा सहभागी हुन यहाँ आएका हुन् । ‘पाँचौ नेपाल–अफ्रिका फिल्म फेस्टिवल–२०१६’ राजधानीको कपलपोखरीस्थित रसियन कल्चर सेन्टरमा सुरु हुँदैछ । आयोजक संस्था सिजिएमसीले सोमबार पत्रकार सम्मेलन गरी फेस्टिवलमा सहभागी फिल्मबारे जानकारी गराएको छ । यसपटक नेपाललगायत ९ मुलुकका फिल्म फेस्टिवलमा स्क्रिनिङ गराइँदैछ ।
फेस्टिवलमा सहभागी हुन नर्वेस्थित ओस्लो युनिभर्सिटीका प्रोफेसर क्रिस्टिना युगाण्डा हाई कमिसनका प्रथम सचिव ज्य्राँक मुटुङ्गी, तान्जिनियाका फिल्म निर्देशक मार्टिन महान्दुलगायतका फिल्मकर्मी राजधानी आएका छन् ।
कार्यक्रममा बोल्दै तान्जिनियाका फिल्म निर्देशक मार्टिनले भने, ‘अधिकांश अफ्रिकी मुलुकहरु गृहयुद्धको चपेटाले गर्दा पछाडि परेकाछन् । यसबाट फिल्म क्षेत्र पनि अछुतो छैन ।’ उनले ‘नेपाल–अफ्रिका फिल्म फेस्टिवल’ले संस्कृति तथा देशको भूगोलबारे जान्ने अवसर प्रदान गर्ने बताए । त्यस्तै, प्रोफेसर ओस्लोले यस फेस्टिवलले अफ्रिका र नेपालको सांस्कृतिक सम्बन्धलाई दरिलो बनाउँने विश्वास व्यक्त गरेकी थिइन् । उनले भनिन्, ‘नेपालजस्तो सानो तर सुन्दर मुलुकमा यो फेस्टिवल हुनु भनेको खुसी कुरा हो ।’
महोत्वसकी निर्देशक डा. मञ्जु मिश्रले यसपटक विगतका वर्षझैं फिचर, फिक्शन र डकुमेन्ट्री फिल्म सहभागी रहेको बताइन् । मंगलबारबाट तीनदिनसम्म चल्ने महोत्सवमा नेपालको नीर शाहद्वारा निर्देशित फिल्म ‘मसान’ले सहभागिता जनाउँदैछ ।
उपराष्ट्रपति नन्दकिशोर पुनद्वारा उद्घाटन हुने फेस्टिबलको पहिलोदिन डेमोक्रेटिक रिपब्लिक कंगोको फिल्म लुमुम्बा स्क्रिनिङ हुँदैछ भने नेपाली फिल्म मसान स्क्रिनिङसँगै महोत्सव समापन हुनेछ । फेस्टिवल उद्घाटनमा नेपाल र अफ्रिकाका बिभिन्न मुलुकका प्रतिष्ठित फिल्म निर्देशको उपस्थिति रहने डा. मिश्रले बताइन् ।
महोत्सवको दोश्रोदिन गिनिया बिसाउको ब्याटल अफ टोबाटो, बुर्किना फासोको तसुना, साउथ अफ्रिकाको फुल्स र डेनमार्कको मिनियाम्बा स्क्रिनिङ हुनेछ भने अन्तिम दिन इजिप्टको डोया एजिजा र अल्जेरियाको रचिडा स्क्रिनिङ हुनेछ । फेस्टिवलकी निर्देशक डा. मिश्रका अनुसार ती फिल्मले अफ्रिकाको भू–राजनीति, जनजीवन, संस्कृति तथा परम्परा बुझ्न मद्दत गर्नेछन् । आयोजकका अनुसार फेस्टिवलमा सकारात्मक सन्देश दिने फिल्ममात्र प्रदर्शन गरिनेछ, जसले आमदर्शकमा सकारात्मक सोचको विकास गराओस् ।
नेपाल–अफ्रिकाबीच सांस्कृतिक आदान–प्रदान तथा सामाजिक विकासमा सहयोग पु¥याउँने उद्देश्यले सन् २०११ देखि कलेजले नेपाल–अफ्रिका फिल्म फेस्टिवल आयोजना सुरु गरे निर्देशक डा. मिश्रले बताइन् ।