६ बैशाख २०८१, बिहीबार
Follow Us

एक जनाको जघन्य हत्या

sarusaru
४ असार २०७५, सोमबार ०८:५९

दुनै, डोल्पा – हिमाली जिल्ला डोल्पाको एक यार्सापाटनमा रोल्पाका एकजनाको जघन्य हत्या गरिएको छ ।

डोल्पो बुद्ध गाउँपालिकामा पर्ने किम्जुङ पाटनमा रोल्पाका ४२ वर्षीय कर्ण पुन मगरको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।

गएराति हत्या गरिएको अवस्थामा शव भेटिएको हो । मृतक मगर रोल्पाको उवा घर भई हाल चनौटा बस्दै आएको प्रहरीले जनाएको छ । मृतक मगर यार्सागुम्बा संकलनका लागि हरेक वर्ष यही यार्सा पाटनमा आउने गरेको बताइएको छ ।

मृतकले यार्सागुम्बा बेचेर कमाएको रु ७०÷७५ हजार नगदका लागि उनको हत्या गरिएको हुनसक्ने प्रहरीले अनुमान लगाएको छ ।

जिप्रका डोल्पाका प्रहरी नायब उपरीक्षक हरिप्रसाद अनुसार मगरको हत्या कसरी भयो भन्नेबारे अनुसन्धान तीव्र रुपमा भइरहेको छ ।

सञ्चारको कुनै पनि सुविधा नभएका कारण राति १ बजे प्रहरी चौकी धो मा जानकारी आएपछि तत्काल प्रहरी नायब निरीक्षकको कमाण्डमा प्रहरी घटनास्थलमा पुगेको प्रनाउ शर्माको भनाइ छ ।

उहाँका अनुसार आजै बिहान सदरमुकाम दुनैबाट पनि प्रहरी निरीक्षकको कमाण्डमा थप प्रहरी पठाइएको तर सदरमुकामबाट उक्त घटनास्थलसम्म पुग्न तीन दिन लाग्ने भएकाले घटनाका बारेमा थप जानकारी आउन समय लाग्ने छ ।

प्रहरी चौकी धोबाट घटना घटेको पाटनसम्म जान चार घण्टाभन्दा धेरै समय लाग्ने गरेको स्थानीयवासी बताउँछन् ।

भौगोलिक विकटता र घटना घटेको स्थान निकै जोखिम भएका कारण शव ल्याउनसमेत कठिन हुने भएको छ ।

मृतकका आफन्तलाई जानकारी गराइसकेको र निम्न परिवारका भएका कारण शव बुझ्न आउनसमेत कठिन भएको मृतककी श्रीमतीले बताएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार मृतक पुन मगरका छोरा मुस्ताङबाट आउँदै गरेको जनाएको छ ।

शव परीक्षणका लागि जिल्ला सदरमुकामसम्म ल्याउनका लागि कम्तीमा पनि एक साता लाग्नेछ ।
रासस