१५ चैत्र २०८०, बिहीबार
Follow Us

हुने भयो भैरवस्थानको पुनः निर्माण

sarusaru
४ असार २०७५, सोमबार ०९:१२

बागलुङ– नगरपालिकाले विनियोजन गरेको बजेट फ्रिज हुने सम्भावना भएको भन्दै भैरवस्थान मन्दिर पुनःनिर्माणको काम उपभोक्ता समितीमार्फत अगाडि बढाईएको छ । मन्दिर व्यवस्थापनले असार महिना लागिसक्दा समेत बजेट अनुसारको काम गर्न चासो नदेखाएपछि उपभोक्ता समिति गठन गरेर काम अगाडि बढाईएको हो । बृहत गुरुयोजना निर्माण गरेर पुनःनिर्माणको काम भैरहेको भैरवस्थान मन्दिरको लागि यस आर्थिक बर्षमा बागलुङ नगरपालिकाले ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । नगरपालिकाले यस वर्षको बजेटमा धार्मिक स्थलहरुको पुनःनिर्माण तथा मर्मत सम्भारका लागि एकमुष्ट रकम बिनियोजन गरेर गत माघ महिनामा नगरभित्रका मठमन्दिरले पाउने रकमको विषयमा टुंगो लगाएको थियो ।
माघमा टुंगो लगाईएको बजेट खर्च गरेर काम गर्न व्यवस्थापनले चासो नदेखाएका कारण उपभोक्ता समितीमार्फत पुनःनिर्माणको काम थालिएको उपभोक्ता समितीका अध्यक्ष ज्ञानेन्द्र ढकालले बताए । मन्दिरको उत्तर तर्फको भिरालो जमिनमा विभिन्न संघ संसथा र गुठी संस्थानको सहयोगमा व्यवस्थापन समितीले केही काम गरेकाले दक्षिण पुर्वि भागमा गुरुयोजना अनुसारनै नगरपालिकाको बजेटबाट काम थालिएको ढकालले बताए । ढकालले भने ‘गुठीले चासो नदेखाएपछि समिति गठन गरेर काम अगाडि बढेको छ ।’ समितिले यस बर्षको बजेटबाट ६६ मिटर लामो र ३ मिटर अग्लो पर्खाल निर्माण गर्न थालेको छ । ‘गुरुयोजना अनुसार दक्षिण पुर्वमा आवश्यक पर्खाल निर्माणका लागि स्टमेट गरेर काम थालिएको हो’ बागलुङ नगरपालिकाका इन्जिनियर दिपेन्द्र भण्डारीले भने ‘असार मसान्तभित्रै काम सक्ने गरी काम अगाडि बढेको छ ।’ नगरपालिकाको अनुदान ३० लाख रुपैयाँ र स्थानिय श्रमदान ७ लाख ६० हजार ९ सय ६५ रुपैयाँ खर्च गरेर उक्त पर्खाल बनाउन लागिएको हो । उपभोक्ता समिती गठन गरेर काम थालेपछि गुठी व्यवस्थापन समितीले भने आफुहरुलाई अपमान गरेर काम थालेको आरोप लगाएको छ । ‘कोटमा आबद्ध ६ वटा साविकको गाविसबाट सिफारिस भएका प्रतिनिधिहरु मिलाई नेपाल सरकारले बनाएको व्यवस्थापन समिती छ’ समितिका अध्यक्ष दिपेन्द्र थापाले भने ‘मन्दिरको पुनःनिर्माणका काम गर्न समिति हुँदाहुँदै हामीलाई अपमान गरेर अर्को समितिमार्फत काम थालियो ।’
मन्दिरको पुनःनिर्माणका लागि सालको काठ किनेर कलात्मक बनाउने योजना बनाएको समितीले बताएको छ । ‘यो बर्षको बजेटले १ हजार क्युफिट सालको काठ खरिद गर्ने योजना थियो’ थापाले भने ‘गुठीले दिएको रकमबाट जोरगाँस गरेर काम गरौंला भनेको यता अर्को काम थाल्नु भएछ ।’ समितिले मन्दिरका लागि १ हजार क्युफिट काठ किन्न नेपाल सरकारसँग अनुमति लिईसकेको थापाले बताए । गुठी र समितीबीच आरोपप्रत्यारोप चल्न थालेपछि बागलुङ नगरपालिकाले चासो देखाएको छ । मन्दिरको दक्षिण पुर्वि भागमा बन्न लागेको पर्खालको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले शिलान्याश गरेका छन् । पर्खालको शिलान्याश गर्दै पौडेलले काममा ढिलाई भएका कारण मन्दिरको पुनःनिर्माणका लागि विनियोजन गर्न सकिने थप रकम बिनियोजन गर्न नसकिएको बताए ।
गुठीले बजेटमा चासो नदेखाएका कारण फ्रिज जाने अवस्वा रहेका कारण उपभोक्ता समितिमार्फत काम गर्न परेको भन्दै पौडेलले गुठी व्यवस्थापन समितिकै मातहतमा रहेर उपभोक्ता समितीले काम गर्नुपर्ने बताए । ‘एक हप्ताभित्रै नगरपालिकाको कार्यालयमा बोलाएर विवाद टुंगोमा पु¥याउँछौं’ पौडेलले भने ‘काठ खरिदको लागि स्रोतको व्यवस्थापन गर्न सके समस्या समाधान हुने देखीएको छ ।’ विवादका कारण काम नरोकीएको भएपनि यसको दिर्घकालिन असर गलत हुने भन्दै समयमा नै समाधान खोज्न थालिएको पौडेले बताए । गुठीले काठको खरिदका लागि भन्दै गुठी संस्थानले दिएको दश लाख रुपैयाँ समेत खर्च गर्न सकेको छैन् । मन्दिरका लागि आवश्यक १ हजार क्युफिट काठ (भण्डै ५६ लाख बराबारको काठ) आवश्यक हुने भएपनि रकम थोरै भएका कारण खरिद प्रकृया अगाडि बढाउन नसकीएको समितीले बताएको छ ।