११ बैशाख २०८१, मंगलवार
Follow Us

निर्माणमा ढिलाइ भएपछि ठेकेदारलाई निर्देशन

sarusaru
५ असार २०७५, मंगलवार ०५:२६

विराटनगर – विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले व्यापारिक मार्ग विस्तार आयोजना छ लेनको काममा भइरहेको ढिलासुस्तीले विराटनगरमा डुबान समस्या हुनसक्नेमा चिन्ता व्यक्त गर्नुभएको छ ।

विराटनगर महानगरभित्र निर्माण भइरहेको आयोजनाअन्तर्गत बनेका सडक र नालीको सोमबार गरिएको अनुगमनका क्रममा उहाँले यस्तो चिन्ता व्यक्त गर्नुभएको हो ।

आयोजनाले बनाएका सडक र नालीसँग जोडिएका सबै शाखा बाटा क्लियर नहुँदा पानी जम्ने र विराटनगर जलाशयमा परिणत हुने खतरा बढेको छ । वर्षात्को समय नजिकिँदै जाँदा उत्पन्न समस्या समाधानका लागि उचित विकल्प निकाल्न आवश्यक भएकाले अनुगमन गरिएको प्रमुख पराजुलीले जानकारी दिनुभयो ।

उहाँले वर्षात्को समयअगावै निर्माणाधीन सडकको काम सम्पन्न गर्न र अवरोध आएका नाला तत्काल सफा गर्न सम्बन्धित ठेकेदारलाई निर्देशन दिनुभएको छ ।

विभिन्न स्थानमा विकास निर्माणका क्रममा उत्पन्न समस्या प्रति नगरवासीले अत्यधिक चिन्ता लिन थालेपछि प्रमुख पराजुलीले अनुगमन कार्यलाई तीव्रता दिनुभएको हो ।

प्रमुख पराजुलीले विराटनगर महानगरपालिकाअन्तर्गत दूधफार्म, आयल निगम, कञ्चनबारी, बरगाछी र मुनालपथमा भइरहेका निर्माण कार्यको स्थलगत निरीक्षण गर्नुभयो भने अनुगमनमा सम्बन्धित कम्पनीका ठेकेदार, प्रदेशसभा सदस्य केदार कार्की तथा वडाअध्यक्ष विनोद बस्नेत र प्राविधिकलगायतको सहभागिता थियो ।
रासस