७ बैशाख २०८१, शुक्रबार
Follow Us

नयाँ उपकरण थप्दै क्यान्सर अस्पताल

sarusaru
५ असार २०७५, मंगलवार ०८:०१

चितवन – चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा नयाँ उपकरण खरीद र जडान प्रक्रिया अगाडि बढाइएको छ ।

अठार वर्षअघि स्थापना भएको सो अस्पतालमा पुराना उपकरणले काम नगर्दा र नयाँ उपकरण नथपिँदा बिरामी सेवाका लागि अन्य निजी अस्पतालमा जान बाध्य हुँदै आएका छन् ।

चीन सरकारको सहयोगमा एशियाकै नमूना अस्पतालको रुपमा विकास गर्ने उद्देश्यले स्थापना गरिएको यस अस्पतालका अधिकांश विभागका उपकरण पुराना हुँदै गएका छन् ।

नेपाल सरकारको सीमित बजेटमा हरेक वर्ष अत्यावश्यक उपकरण थपिँदै गएको भए पनि अपेक्षाकृत ढंगबाट उपकरण थप्न नसक्दा बिरामीले सोचे अनुरुपको सेवा पाउन सकेका छैनन् ।

अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यका अनुसार रु नौ करोडको लागतमा खरीद गरिएको सिटी सिमुलेटर र रु अठार करोडको लागतमा खरीद गरिएको लिन्याक मेशिन जडानका क्रममा छ । शरीरमा देखिएको क्यान्सर रोकथामका लागि सेकाइ गर्नुअघि कहाँ सेकाइ गर्ने भनेर तयारी गर्ने सिटी सिमुलेटर अस्पताल स्थापनाका बेला जडान गरिएको थियो ।

आचार्यका अनुसार सन् २००८ मा सम्बन्धित कम्पनीले उपकरण पुरानो भएको भन्दै प्रयोग नगर्न र नयाँ खरीद गर्न सुझाव दिएको थियो ।

बजेट अभावमा सोही उपकरण प्रयोग हुँदै आएकोमा नयाँ उपकरण आउने भएपछि झण्डै एक महिना अघिबाट पुरानो उपकरण हटाइएको छ ।

करिब एक सातामा सिमुलेटर सञ्चालनमा आउने उहाँले बताउनुभयो । अत्याधुनिक प्रविधिको फिलिप्स कम्पनीको उपकरण ल्याइएको आचार्यले बताउनुभयो ।

अस्पतालले रेडियो थेरापि (सेकाइ)का लागि अमेरिकाको म्यारियन कम्पनीको लिन्याक उपकरण झिकाएको हो । अस्पतालमा हाल लिन्याक एउटा र कोभाल्ट एउटा गरी दुईवटा रेडियोथेरापिका उपकरण छन् । जसका कारण बिरामीले तीन महिना कुरेर रेडियोथेरापी गर्न बाध्य भएका छन् ।

थप लिन्याक उपकरण जडान भएपछि एकदेखि डेढमहिनामा बिरामीको पालो पाउने उहाँले बताउनुभयो । पालो नकुरी रेडियोथेरापी गर्न अरु तीन वटा लिन्याक उपकरण थप्नुपर्ने आचार्यले बताउनुभयो ।

हाल जडानमा रहेको उपकरण तीन साताभित्रमा सञ्चालनमा आउने उहाँले बताउनुभयो ।

अस्पतालले एनेस्थेसियाको अत्याधुनिक दुई थान भेन्टिलेटर पनि खरीद गरी सञ्चालनमा ल्याएको छ भने बिरामीलाई रगत दिँदा छुटा्याएर आवश्यक रगत दिनसक्ने प्लेटलेट्स थेरेसीस पनि सञ्चालनमा ल्याएको छ ।

विसं २०५७ मा स्थापना भएको यस अस्पतालबाट वार्षिक एक लाख ३० हजारले सेवा लिँर्दै आएका छन् । जसमध्ये आठ हजार भन्दा बढी क्यान्सरका विरामी छन् । अस्पतालमा हाल २२५ श्यया सञ्चालनमा छ । नेपालका प्रायः सबै जिल्ला र भारतीय सीमाक्षेत्रबाट पनि उपचारका लागि यहाँ बिरामी आउने गर्छन् ।
रासस