६ बैशाख २०८१, बिहीबार
Follow Us

प्रहरीमा उजुरी दिन जाँदा डिआईजीकी प्रेमिका खोरमा

नेपालब्रिटेन डट कम्
२१ भाद्र २०७३, मंगलवार १५:३९

काठमाडौं । ‘गीता ढकाल हत्या प्रकरण’मा संलग्न चितवनकी तारा रेग्मीलाई पक्राउ गरी केन्द्रीय कारागार चलान गरिएको छ । ललितपुर प्रहरीले हत्या अभियोगमा फरार अभियुक्त रेग्मीलाई पक्राउ गरी फैसला कार्यान्वयन गराउन कठमाडौँ जिल्ला अदालतमा पेस गरेकामा आजै अदालतको ओदशमा रेगमीलाई केन्द्रीय कारागार पठाइएको प्रहरीले जनाएको छ ।

तत्कालीन सशस्त्र प्रहरी नायब महानिरीक्षक रञ्जन कोइरालाकी पत्नी गीता ढकालको हत्या प्रकरणमा २०७१ वैशाख ७ गते काठमाडौँ जिल्ला अदालतले रेग्मीलाई एक वर्ष कैद सजाय तोकेकामा कैद भुक्तान नगरी उनी फरार रहँदै आएकी थिइन् ।

ललितपुर उपमहानगरपालिका–४ धोवीघाटस्थित रेड रोज इन्टरनेसनल मेनपावर सञ्चालन गर्दै आएकी फरार तारालाई पूर्व मन्त्री श्यामसुन्दर गुप्ताले धम्क्याई रकम माग गरेपछि सोमबार गुप्ताविरुद्ध उजुरी दिन प्रहरीसामु पुगेकी रेग्मी अन्ततः आफैँ पक्राउ परेकी हुन् ।

गुप्ताले तीन महिनादेखि पटक–पटक भेटघाट तथा कार्यालय र मोबाइलमा समेत फोन गरी रु ५० लाख रकम माग गर्दै आएको र रकम नदिएमा व्यवसाय ध्वस्त तथा घरपरिवारलाई अपहरणसमेत गर्ने धम्की दिँदै आएपछि रेग्मी प्रहरीसामु उजुरी दिन पुगेकी थिइन् । सोही क्रममा उनलाई पक्राउ गरिएको महानगरी प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ईश्वरी कार्कीले जानकारी दिनुभयो ।

प्रहरीले रेग्मीलाई धम्क्याउने गुप्तालाई पनि पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । सोमबार ताराले उजुरी दिनासाथ पक्राउ परेका गुप्तामाथि अपहण तथा शरिर बन्धक उद्योग मुद्दामा अदालतले अनुसन्धान गर्न चार दिनको म्याद दिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

उनलाई हाल महानगरीय प्रहरी परिसरको हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको प्रवक्ता कार्कीले जानकारी दिनुभयो । पक्राउ परेका गुप्ता यसअघि पनि अपहरण शरीर बन्धक मुद्दामा तीन वर्ष कैद सजाय भुक्तान गरी छुटेका व्यक्ति हुन् ।

ताराले दिएको जाहेरीमा मुबुङ्मतिका इन्चार्ज प्रहरी निरीक्षक अनिल पाण्डेले समेत धम्क्याइ आफूसँग रकम लिएको उल्लेख गरेपछि महानगरीय प्रहरी प्रभाग ललितपुरले उनलाई पनि नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ ।

‘प्रहरी निरीक्षक पण्डितलाई पनि पक्राउ गरेर अपहरण तथा शरीर बन्धक उद्योगमा तीन दिनको म्याद लिएर अनुसन्धान गरिरहेका छौँ’ प्रवक्ता कार्कीले भन्नुभयो, ‘गल्ती गरेपछि हाम्रो मान्छे भनेर छोड्न मिलेन, कानुनअनुसार कारबाही हुन्छ ।” फौज्दारी अभियोग लागेपछि प्रहरी निरीक्षक पण्डित स्वतः निलम्बनमा परेका छन् ।