४ बैशाख २०८१, मंगलवार
Follow Us

अर्जेन्टिनाको लज्जास्पद हार

sarusaru
८ असार २०७५, शुक्रबार ०६:२१

विश्वकप फुटबल प्रतियोगिता अन्तरगत बिहीबार राति भएको खेलमा अर्जेन्टिनाले क्रोएसियासँग लज्जास्पद हार भोगेको छ । समूह डी को दोस्रो खेलमा प्रभावशाली प्रदर्शन गर्दै क्रोएसियाले अर्जेन्टिनालाई ३–० को नमिठो हार चखाएको हो । सन् १९५८ यता पहिलो पटक अर्जेन्टिनाले विश्वकपको समूह चरणमा यति फराकिलो हार ब्यहोरेको हो । क्रोएसियालाई सनसनीपूर्ण विजयी गराउने क्रममा अर्जेन्टिनाका गोल किपर वाइली काबाल्लेरोको अक्षम्य गल्तीका कारण क्रोएसियाले पहिलो गोल गरेको थियो । काबाल्लेरोले डी बक्सभित्र नियन्त्रमा लिएको बल क्लियर गर्ने क्रममा क्रोएसियाका एन्टे रोबिक नजिकै हावामा फ्यालेपछि ५३ औँ मिनेटमा गोल गर्दै अग्रता दिलाए ।
त्यसपछि खेलको ८० औँ मिनेटमा रियल मड्रिडबाट खेल्दै आएका लुका मोड्रिचले गरेको गोल आकर्षक थियो । उनले अर्जेन्टिानाका डिफेन्डरलाई चक्मा दिँदै डी बक्सको केही बाहिरबाट प्रहार गरेको बलले सीधै जाली चुमेको थियो । क्रोएसिया यतिमा मात्रै रोकिनेवाला थिए । उसका लागि बार्सिलोनाबाट खेल्दै आएका इभान राकिटिकले खलेको ९१ औँ मिनेटमा अर्जेन्टिनाका खेलाडी अल्मलिएका बेला गोललाई जालीको दिशा देखाइदिए ।

आइसल्यान्डविरुद्धको पहिलो खेलमा पेनाल्टी समेत गुमाएका लियोनल मेसीले एक दुई बाहेक गतिलो प्रदर्शन गर्न सकेनन् । उनी यो खेलमा फ्लप साबित भए । गोल खाएपछि दोस्रो हाफमा ३ जना स्ट्राइकर मेसी, हिगुइन र पाउलो ड्बालालाई एक साथ उतार्दा पनि अर्जेन्टिनाले क्रोएसियाको डिफेन्सलाई चिर्न सकेन । ५९ प्रतिशत बल पोजिसन बनाए पनि क्रोएसियाको आक्रमणलाई अर्जेन्टिनाको डिफेन्सले छेक्न सकेन । विशेषगरी लुका मोर्डिच, इभान राकिटिक र मारियो मान्जुकिजले अर्जेन्टिनाको पोस्टमा पटक पटक चार्ज गरे ।
यता क्लब फुटबलमा चम्किएका मेसी, हिगुवाइन, ड्बाला र अग्वेरोले गतिलो पोस्ट चार्ज गर्न सकेनन् । यो पराजयपछि अर्जेन्टिनाको अघिल्लो चरणको यात्रा पनि कठिन बनेको छ । यसअघि सन् २०१४ को विश्वविजेता जर्मनी आफ्नो समूह चरणको पहिलो खेलमै मेक्सिकोसँग पराजित भएको थियो । त्यही विश्वकपको उपविजेता अर्जेन्टिना आफ्नो समूहको दोस्रो खेलमा लज्जास्पद हार भोग्न बाध्य भयो ।