१४ बैशाख २०८१, शुक्रबार
Follow Us

भूकम्प पीडितको रकम मेरो खातामा छैन — भवन भट्ट

नेपालब्रिटेन डट कम्
२२ भाद्र २०७३, बुधबार १४:४५

लन्डन । गैरआवासीय नेपाली संघका उपाध्यक्ष भवन भट्टले भूकम्प पीडितको नाममा जापानमा संकलित रकम आफ्नो निजी खातामा नभएको प्रष्ट पारेका छन् । नेपाल ब्रिटेन डट कममा ‘भूकम्प पीडितको ३ करोड रुपैयाँ एनआरएन उपाध्यक्ष भट्टको निजी खातामा’ शीर्षकको समाचार प्रति उनले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
भट्टद्धारा बुधवार जारी विज्ञप्तिमा उनको संयोजकत्वमा एनआरएन जापान सहित जापानमा रहेको सिंगो नेपाली समूदायमा क्रियाशील राजनीतिक दलहरुका भातृसंगठन तथा सामाजिक संघसंस्थाहरुका अगुवाहरु सम्मिलित भूकम्पपीडित राहत तथा सहयोग समितिको खातामा सो रकम रहेको उल्लेख गरेका छन् ।

उनले समितिको जापान स्थित जापान पोष्ट बैंकको आफ्नै खाता रहेको र उक्त खातामा जापानी येन २ करोड ३० लाख १ हजार ७०३ हाल मौज्दात रहेको विज्ञप्तिमा उल्लेख गरेका छन् । उनले गैरआवासीय नेपाली सँघको बैठक भित्रका आन्तरिक सूचना बाहिर चुहिएको मा समेत असन्तोष प्रकट गर्दै बिज्ञप्तिमा भनेका छन ‘एनआरएनए आइसिसिका जिम्मेवार पदमा रहेका व्यक्तिद्वारा संस्थाको गोपनियतालाई ख्याल नगरी र संस्थाको मर्यादा समेतमा आँच आउने गरी गलत नियतबस बैठकका आन्तरिक छलफलका विषयहरु मिडियामा ल्याउन खोजिएको देखिन्छ’ ।

भट्टद्धारा जारी विज्ञप्तिको पूर्णपाठ

नेपाल ब्रिटेन डट कममा ६ सेप्टेम्बर २०१६ मा ‘भूकम्प पीडितको ३ करोड रुपैयाँ एनआरएन उपाध्यक्ष भट्टको निजी खातामा’ शीर्षकको समाचार प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । गैरआवासीय संघका सम्मानित अध्यक्षको समेत तस्विर राखी प्रसारित उक्त समाचारबाट एनआरएनए आइसिसिका जिम्मेवार पदमा रहेका व्यक्तिद्वारा संस्थाको गोपनियतालाई ख्याल नगरी र संस्थाको मर्यादा समेतमा आँच आउने गरी गलत नियतबस बैठकका आन्तरिक छलफलका विषयहरु मिडियामा ल्याउन खोजिएको देखिन्छ । सो समाचारमा उल्लेख गरिएको विषय र रकम दुवै गलत र भ्रामक रहेको कुरा म सबैमा जानकारी गराउदै उक्त भ्रमपूर्ण समाचार प्रति खेद प्रकट गर्दछु । संपूर्ण एनआरएन र यस संस्थाका शुभचिन्तकहरुलाई प्रस्तुत समाचारको भ्रममा नपर्नुहुन पनि हार्दिक अनुरोध गर्दछु ।
सत्य तथ्य केहो भने मेरो संयोजकत्वमा एनआरएन जापान सहित जापानमा रहेको सिंगो नेपाली समूदायमा क्रियाशील राजनीतिक दलहरुका भातृसंगठन तथा सामाजिक संघसंस्थाहरुका अगुवाहरु सम्मिलित भूकम्पपीडित राहत तथा सहयोग समिति निर्माण भएको थियो । यस समितिको जापान स्थित जापान पोष्ट बैंकको आफ्नै खाता रहेको र उक्त खातामा जापानी येन २ करोड ३० लाख १ हजार ७०३ हाल मौज्दात रहेको जानकारी गराउन चाहन्छु । कसैले यसको गलत उपयोग वा दुरुपयोग गर्न सक्ने अवस्था नरहेको र म एनआरएनए आइसिसिको उपाध्यक्ष रहेका कारण सो रकम मैले मात्रै चाहे अनुसार उपयोग नहुने कुरा सबैमा अवगत गराउन चाहन्छु ।

यति हुँदाहुँदै पनि त्यतिखेरै समितिका साथीहरुलाई आस्वस्त पारी ३ करोड जापानी येन एनआरएनए आइसिसिको नेपालको खातामा पठाइएको थियो । बाँकी रकम पनि एनआरएनए आइसिसिकै पहलमा आगामी दिनमा हुन गैरहेको पुनरनिर्माणका कार्यमा नै सहयोग हुने गरी पठाउन मेरा तर्फबाट आवश्यक पहल भैरहेको पनि जानकारी गराउन चाहन्छु ।

स्मरणरहोस् संघको स्थापनाकाल देखि नै म अविरलरुपमा संघको अभियानमा तन मन र धन सहित जुटिरहेको छु । संघको जापान समितिको सदस्यदेखि अध्यक्ष सम्म र आइसिसिको कोषाध्यक्षदेखि उपाध्यक्षको दोस्रो कार्यकालको जिम्मेवारी सम्हाली रहेको छु ।

यो संगठन नितान्त सामाजिक भएको र त्यहाँबाट केही लिन नभएर दिन जाने भन्ने कुरा मैले राम्रोसँग बुझेको छु । यसै अनुसार नै नेपालमा भूकम्म गएको २ घण्टा भित्रै समिति गठन गर्न पहल गरी आफ्नो तर्फबाट तत्काल नेरु एक करोड दिने घोषणा गरेको सर्वविदितै छ । तसर्थ यस्ता गलत कुराहरु तिर ध्यान दिनु भन्दा संस्थाप्रति जिम्मेवार र शुभचिन्तक साथीहरुलाई म संस्थाको सर्वोपरि हित र ५० लाख भन्दा बढी गैरआवासीय नेपालीहरुको मात्रै नभएर सम्पूर्ण नेपालीहरुको आशाको केन्द्र रहेको संघको एकतामा जोड दिनुहुन अनुरोध गर्दछ । संघ भित्रबाट हुने यस किसिमका गैरजिम्मेवार कार्यहरुलाई निरुत्साहित गर्न संघका सम्पूर्ण अभियन्ताहरुमा विशेष आग्रह गर्दछु ।

भवदीय
भवन भट्ट

यसै बीच भूकम्प पीडित राहत तथा सहयोग समिति जापानले एक विज्ञप्ति जारी गर्दै भूकम्प पीडितको नाममा संकलित सो रकम संस्थाको नाममा सुरक्षित रहेको पुष्टि गरेको छ । बुधवार जारी बिज्ञप्तिमा जापान पोष्ट बैंकको आफ्नै खातामा जापानी येन २ करोड ३० लाख १ हजार ७०३ मौज्दात रहेको र कसैले यसको गलत उपयोग वा दुरुपयोग गर्न सक्ने अवस्था नरहेको प्रष्ट पारिएको छ ।

समितिद्धारा जारी विज्ञप्तिको पूर्णपाठ

नेपाल ब्रिटेन डट कममा ६ सेप्टेम्बर २०१६ मा ‘भूकम्प पीडितको ३ करोड रुपैयाँ एनआरएन उपाध्यक्ष भट्टको निजी खातामा’ शीर्षकको समाचार प्रति भूकम्पपीडित राहत तथा सहयोग समिति जापानको गम्भीर ध्यानाकर्षण भएको छ । उक्त समाचारमा उल्लेख गरिएको विषय र रकममा कुनै सत्यता नभएको जानकारी गराउँदै उक्त भ्रमपूर्ण समाचार प्रति यस समिति खेद प्रकट गर्दछ र उक्त समाचारको भ्रममा नपर्न सम्बन्धित सबैमा अनुरोध गर्दछ ।

यो समिति एनआरएन जापान सहित जापानमा रहेको सिंगो नेपाली समूदायमा क्रियाशील राजनीतिक दलहरुका भातृसंगठन तथा सामाजिक संघसंस्थाहरुका अगुवाहरु सम्मिलित समिति हो । यस समितिको जापान स्थित जापान पोष्ट बैंकको आफ्नै खातामा जापानी येन २ करोड ३० लाख १ हजार ७०३ मौज्दात रहेको र कसैले यसको गलत उपयोग वा दुरुपयोग गर्न सक्ने अवस्था नरहेको कुरा यो समिति सबैमा आश्वस्त पार्दछ ।

स्मरणरहोस, यस अघि पटक पटक गरेर ३ करोड जापानी येन एनआरएनए आइसिसिको नेपालको खातामा समितिको निर्णय अनुसार पठाइएको थियो । यसमा जम्मा भएको सबै रकम समितिले नै उठाएको र कहाँ कसरी खर्च गर्ने भन्ने बारेमा पनि यही समितिले उपयुक्त निर्णय गर्ने कुरा सबैमा अवगत गराउन चाहन्छ । यो रकम एनआरएन आइसिसिको कोषमा पठाउन पटक पटक एनआरएनका पदीय जिम्मेवारीमा रहनुभएका साथीहरुले अनुरोध गर्दै आउनुभएको भए पनि रकमको खर्च कहाँ कसरी हुन्छ र जापानबासी नेपालीहरुको योगदानको पहिचान कसरी हुन सक्छ भन्ने स्पष्ट जानकारी पाउन नसकेकाले कोष जापानमा नै सुरक्षित रहेको कुरा पनि यसै अवसरमा जानकारी गराउदै उक्त मौज्दात रकम कहाँ कसरी खर्च गर्ने भन्ने विषयमा यस समितिले निकट भविष्यमै उपयुक्त निर्णय लिने कुरा अवगत गराउँदछौं । यस समितिको नाममा रहेको खाता विवरण यसैसाथ संलग्न गरिएको व्यहोरा समेत अवगत गराइन्छ ।

जिम्मेवार मिडिया कर्मीहरुले यसकिसिमका समाचारहरु सम्प्रेषण गर्नु अघि सत्यतथ्य बुझिदिनुहुन पनि यस समिति विनम्र अनुरोध गर्दछ ।

तिलक मल्ल
महेशकुमार श्रेष्ठ
जिज्ञान कुमार थापा

भूकम्पपीडित राहत तथा सहयोग समिति जापान, सचिवालय समितिका तर्फबाट सदस्यहरु