७ बैशाख २०८१, शुक्रबार
Follow Us

२० वर्षपछि फ्रान्सलाई विश्वकप फुटबलको उपाधि

नेपालब्रिटेन संवाददाता
३२ असार २०७५, सोमबार ०४:३१

मस्को । क्रोएसियालाई हराउँदै फ्रान्सले दोस्रो पटक विश्वकप फुटबल २१ औं संस्करणको उपाधि जितेको छ । गएराति रुसको मस्कोस्थित लुझ्निकी रंगशालामा भएको फाइनलमा फ्रान्सले क्रोएसियालाई ४–२ गोल अन्तरले हराउँदो २० वर्षपछि फेरि विश्वकपको उपाधि उचालेको हो ।

खेलमा फ्रान्सले १८ औ मिनेटमा आत्मघााती गोलमार्फत अग्रता लिएको थियो । कर्नर बललाई हेडमार्फत क्लियर गर्न लाग्दा क्रोएसियाका मारियो मान्जुकिजले आफ्नै पोस्टमा गोल गर्न पुग्नु भएको थियो । यो विश्वकपको फाइनलमा भएको पहिलो आत्मघाती गोल समेत बनेको छ ।

तर, फ्रान्समाथि लगातार दबाव बनाएको क्रोएसियाले २८ औं मिनेटमै बराबरी गोल फर्कायो । क्र्रोसियाका लागि इभाँ पेरिसिकले बराबरी गोल गर्नु भयो ।

क्रोएसियाले खेल बराबरीमा ल्याएको १० मिनेटमै फेरि फ्रान्सले पेनाल्टी पायो र अग्रता लिने मौका पायो । कर्नर बलमा क्रोएसियाली रक्षकले ह्याण्ड गर्दा पाएको पेनाल्टीलाई फ्रान्सका एन्टोनी ग्रिजम्यानले गोलमा परिणत गर्नु भयो । रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को सहायताले पेनाल्टीको निर्णय लिनु भएको थियो ।

उपहार गोलबाट फ्रान्सले अग्रता लिएपछि खुसी मनाउँदै फ्रान्सका राष्ट्रपति खेल हेर्न मस्को पुग्नु भएको थियो । दोस्रो हाफमा बलमाथि क्रोएसियाले बढी नियन्त्रण गरे पनि फ्रान्सले पाएका अवसर सदुपयोग गर्दा फाइनल खेलमा फराकिलो जित दर्ता गर्न सफल भयो ।

फ्रान्सका लागि ५९ औं मिनेटमा पाउल पोग्वा र ६५ औं मिनेटमा केलियन एम्बाप्पेले गोल थप्नु भयो । क्रोएसियाका लागि सान्त्वना गोल मारियो मान्जुकिजले ६९ औं मिनेटमा गर्नु भयो । पहिलो पटक फाइनल पुगेको टिम क्रोएसियाले बलमाथि धेरै नियन्त्रण राखे पनि गोल गर्न नसक्दा हार व्यहोर्न पुग्यो ।

फ्रान्सका केइलिन एमबाप्पे विश्वकप फुटबलको फाइनलमा गोल गर्ने केवल दोस्रो किशोर खेलाडी बन्नु भएको छ । फ्रान्सले क्रोएसियालाई ४–२ गोलले हराउँदा १९ वर्षीय एमबाप्पेले पनि गोल गर्नु भएको थियो । यसअघि सन् १९५८ को विश्वकपको फाइनलमा ब्राजिलका पेलेले किशोर उमेरमै गोल गर्नु भएको थियो । त्यतिबेला ब्राजिल पनि विश्व विजेता बनेको थियो ।

एमबाप्पे विश्वकपको फाइनलमा खेल्ने केवल तेस्रो किशोर खेलाडी हुनुहुन्छ । पेलेपछि इटालीका जिउसेप्पी बर्गिनीले पनि यो सफलता हात पार्नु भएको थियो । बर्गिनीले सन् १९८२ को विश्वकप फाइनल खेल्दा इटाली पनि विजेता बनेको थियो। तर त्यस खेलमा बर्गिनीले गोल गर्न सक्नु भएको थियो । १९ वर्षीय एमबाप्पेले यस विश्वकपमा चार गोल गर्नु भयो ।

इंग्ल्याण्डका ह्यारी केनले गोल्डेन बुट जित्नु भएको थियो । रुसमा सम्पन्न विश्वकप फुटबलमा ६ गोल गर्दै केनले गोल्डेन बुट जित्नु भएको हो । प्रतिस्पर्धामा रहेका पाँच खेलाडीले चार गोल मात्रै गर्न सके ।

बेल्जियमका लुकाकु, फ्रान्सका एम्बापे र ग्रिजम्यान, रुसको डेनिस चेरिसेभ र पोर्चुगलका क्रिस्टियानो रोनोल्डोले समान चार गोल गर्नु भयो । ह्यारी केनको टोली यो विश्वकपमा चौथो भएको छ । सेमिफाइनलमा क्रोयसियासँग पराजित भएको इंग्ल्याण्ड तेश्रो स्थानको लागि भएको खेलमा पनि बेल्जियमसँग २–० ले पराजित भयो ।

क्रोएसियाका कप्तान लुका मोडरिच विश्वकप फुटबल प्रतियोगिताको उत्कृष्ट खेलाडी बन्नु भएको छ । १९९१ स्वतन्त्र राष्ट्र बनेको क्रोएसियालाई पहिलो पटक विश्वकप फाइनल पुर्याउन प्रेरणादायी भूमिका खेलेका मोडरिचले प्रतियोगितामा २ गोल गर्नु भएको थियो । उहाँले समूह चरणको पहिलो खेलमा नाइजेरियाविरुद्ध र दोस्रो खेलमा अर्जेन्टिनाविरुद्ध समान १–१ गोल गर्नु भएको थियो ।

रियाल मड्रिडका मिडफिल्डर मोडरिचले अन्तिम १६ मा डेनमार्कविरुद्ध अतिरिक्त समयमा प्राप्त पेनाल्टीमा गोल गर्न चुके पनि पेनाल्टी सुटआउटको पहिलो प्रहार गोलमा परिणत गर्नु भएको थियो ।