११ बैशाख २०८१, मंगलवार
Follow Us

विश्वकपको उपाधि फ्रान्सलाई, कुन खेलाडीले के पाए ?

sarusaru
३२ असार २०७५, सोमबार ०८:३७

रसियामा सम्पन्न २१औं संस्करणको फिफा विश्वकप फुटबलको उपाधि २० वर्षपछि फ्रान्सले दोस्रो पटक जितेको छ। आइतबार मस्कोमा क्रोएसियालाई ४–२ गोल अन्तरले हराउँदै फ्रान्सले दोस्रो पटक बल्र्डकपको उपाधि जितेको हो।

यसअघि फ्रान्सले सन् १९९८ मा पहिलो विश्वकप उपाधि जितेको थियो । त्यसपछि सन् २००६ मा विश्वकप फाइनलमा पुगेको फ्रान्स उपविजेता बनेको थियो ।

फ्रान्ससँग फाइनलमा भिडेका क्रोएसियाभने विश्वकप फाइनलमा पहिलो पटक पुगेर पनि उपाधिबाट विमुख भएको छ । तर उपविजेता बनेका क्रोएसियाको दोस्रो स्थाननै ऐतिहासिक फड्को बनेको छ । यसअघि क्रोएसिया सन् १९९८ मा सेमिफाइनलसम्म पुगेपनि फ्रान्ससँगनै उसले पराजय व्यहोरेको थियो ।

रसिया विश्वकप २०१८ मा कुल पुरस्कार राशी ७९१ मिलियन डलर रहेको छ भने फ्रान्सले उपाधिमा १८ क्यारेट सुनको ट्रफीसँगै ३९ मिलियन डलर अर्थात करिब ४ अर्ब नेपाली रूपैयाँ प्राप्त गरेको छ।

दोस्रो भएका क्रोएसियाले २८ मिलियन डलर र तेस्रो भएको बेल्जियमले २४ मिलियन डलर पाएको छ। फ्रान्सका युवा स्ट्राइकर केलियन एमबाप्पे रुस विश्वकपको उत्कृष्ट युवा खेलाडी घोषित भए । १९ बर्षे एमबाप्पेले फाइनलमा एक गोल गरेका थिए । एमबाप्पे विश्वकपको फाइनलमा गोल गर्ने पेलेपछिका दोस्रो युवा खेलाडी पनि बनेका छन् ।

यस्तै, विश्वकप फुटबलमा इङ्ल्याण्डका कप्तान ह्यारी केन सर्वाधिक गोलकर्ता बनेका छन् । इङ्लिस क्लब टोटनह्यामका स्ट्राईकर समेत रहेका केनले विश्वको उत्कृष्ट स्ट्राईकरको रुपमा गोल्डेन बुट हात पारेका हुन् ।

यस्तै, रुस विश्वकप फुटबलमा स्पेनले फिफा फेयर प्ले अवार्ड हात पारेको छ र अनुशासित टोली बन्दै स्पेनले फेयर प्ले अवार्ड जित्न सफल भएको हो ।

यस्तै, बेल्जियमको किपर थिबाउट कोर्टियसले रुस विश्वकपमा उत्कृष्ट गोलकिपरको उपाधि हात पारेका छन् । उत्कृष्ट गोलकिपर बन्दै कोर्टियसले गोल्डेन ग्लभ्स पनि जितेका छन् ।

क्रोएसियाका लुका मोड्रिच रुस विश्वकपमा उत्कृष्ट खेलाडी बनेका छन् । क्रोएसियालाई फाइनलमा पुर्याउन महत्वपूर्ण भूमिका खेलेको भन्दै मोड्रिचले उत्कृष्ट खेलाडी बन्दै गोल्डेन बल हात पारेका हुन् ।