७ बैशाख २०८१, शुक्रबार
Follow Us

नेपथ्यको नयाँ गीत ‘हो रामा रामा’ सार्वजनिक

नेपालब्रिटेन डट कम्
२६ भाद्र २०७३, आईतवार १९:५१

यसअघि ‘कोशीको पानी’लाई युट्युबमा हाल्नेबित्तिकै एकमहिना भित्र चार लाख भन्दा बढी दर्शकले हेरिसकेपछि नेपथ्यले आगामी अल्बमको अर्को नयाँ गीत ‘हो रामा रामा’ सार्वजनिक गरेको छ ।
नेपथ्यका कतिपय श्रोतादर्शकका निम्ति यस गीतको यो पहिलो अनुभव नहुन सक्छ । बितेका दुई वर्षदेखि नेपथ्यले उसको लाइभ कन्सर्टहरुमा यसलाई कतिपयपटक सुनाइसकेको छ । ब्याण्डले आफ्नो आधिकारिक यु ट्युब च्यानलमार्फत् भने यसलाई पहिलोपटक सार्वजनिक गर्नलागेको हो ।
सन् २०१४ मा दक्षिणकोरियाको राजधानी सउलमा यो गीत पहिलोपटक गाइएको थियो । र, यसलाई संयोग नै मान्नु पर्छ यस गीतको भिडियोलाई फेरि सउलमै प्रदर्शनको निम्ति जानै लागेको बेला नेपथ्यले आम दर्शकका निम्ति युट्युवमार्फत् सार्वजनिक गर्दैछ । २०१६ को सेप्टेम्बर १५ तारिखका दिन नेपथ्य सउलमा प्रदर्शन भइरहेको छ । त्यहाँस्थित प्रसिद्ध केबीएस (कोरियन ब्रोडकास्टिङ सिस्टम) एरेनामा ब्याण्डले नेपाली लोकभाकामा आधारित रक गीतहरु घन्काउने छ ।
सउलबाहेक यो गीतलाई ब्याण्डले दोहा, बेंग्लोर, नेपालगञ्ज, पर्थ, सिड्नी, ब्रिस्बेन, डार्बिन, दुबई, नारायणघाट, ललितपुर, लण्डन, न्यूयोर्क, एटलान्टा, ह्याम्बर्ग र भर्खरै पछिल्लोपटक कोपनहेगनमा समेत गाएर सुनाइसकेको छ ।
‘भिडियोको टिजरमा उल्लेख गरिएजस्तै यो गीत थुप्रै सहरहरुमा प्रस्तुत गरेर नेपथ्यले परिक्षण गरिसकेको छ र अब विश्वभरिका श्रोताका निम्ति एकैपटक सार्वजनिक हुँदैछ,’ नेपथ्यलाई प्रस्तुत गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘ती सबै स्थानमा गीत गाउँदा दर्शकले जनाएको प्रतिक्रियालाई यस भिडियोमा समेटेर यो गीतसँगै दर्शकले माहोल कसरी तताउँदै आएका छन् भन्ने देखाउन खोजिएको छ ।’
नेपथ्यले आफ्नो दसौं अल्बमको रेकर्डिङ भर्खरै सम्पन्न गरेको छ र यो छिट्टै सार्वजनिक हुने तरखरमा छ । यसपटक भने हरेक गीतलाई पालैपालो सार्वजनिक गर्दै लैजाने र अन्तिममा संग्रहणीय हिसाबले सँग्लो अल्बम श्रोतासामू ल्याउने रणनीति ब्याण्डले लिएको छ ।
‘हो रामा रामा’लाई नेपथ्यले नै झण्डै दस वर्षअघि लेखन तथा संगीत दिने काम गरेको हो । सामान्य वर्णन शैलीबाट मनमुटु रमाउने हिसाबले यो गीत तयार पारिएको हो । रेकर्डिङको सूचीमा रहेर पनि यसअघिको अल्बममा यो गीत समेटिन सकेको थिएन । नेपथ्यका अधिकांश गीतहरुजस्तै यो गीत, लोकधुनको आभास मिल्नेगरेर तयार पारिएको छ । नेपथ्य टोलीका मुख्य गायक अमृत गुरुङका अनुसार गण्डक क्षेत्रको घाटु र सोरठी भाका यो गीतको आधारभूमि हो।
यसका शब्दले ‘माया’ भनेर पुकार्दै नारी सौन्दर्यको बर्णन गरेको छ।

‘हो रामा रामा, हो रामा रामा
हाइ माया हाँसी दिँदा, देब्रे गाला डिम्पल बसने’

टोलीका मुख्य गायक अमृत गुरुङले चितवनमा पहिलोपटक यो गीत प्रस्तुत गर्दा यसै भेगसँग जोडिएको गीतले त्यहाँका श्रोता दर्शक रमाएका थिए ।
त्यसैगरि गीतको एउटा लाइनले भन्छ–

‘हाइ माया हिउँचुली र वरचुली
सरमाइ लजाउने’

उचाइँ र सुन्दरताका निम्ति गण्डक क्षेत्रकै उल्लेखनीय मानिने यी दुईवटै चुलीहरु यसअघि पनि धेरै रैथाने प्रेमगीतसँग जोडिएका छन् ।

‘सन् २००५मा हामीले भर्खर घटना अल्बम तयार पारेपछि ब्याण्डको प्रवद्र्धन गर्दैआएका अर्पणले हामी असाध्यै गम्भीर गीतहरुतर्फ जानथालेको बताएका थिए । सुरुमा त यसलाई हामीले हल्का ढंगले लियौं । तर, लगत्तै हामीलाई लामो समयदेखि सरल रसरंगका गीतहरु नगाएको अनुभूति भयो । त्यतिबेला माओवादी द्वन्द्व सुरु भएपछिका परिस्थितीले हामीलाई पनि गम्भीरतातर्फ डो¥याउँदै लग्यो ।’ गायक अमृत भन्छन्, ‘त्यो लामो समयको एकोहोरोपनालाई तोड्ने पहिलो गीत यो ‘रामारामा’नै थियो । गीत तयार पारेको दस वर्षपछि यो सार्वजनिक हुनलागेकोमा असाध्यै खुशी लागिरहेको छ ।’
‘यो गीतलाई कन्सर्टहरुमा गाउनेबित्तिकै जब दर्शकहरु जुरुक्क जुरुक्क उफ्रिँदै गाउनथालेको देख्यौं, हामीले स्टेज र दर्शकका त्यस्ता लाइभ दृश्यहरु खिचेर संकलन गर्न सुरुग¥यौं,’ म्यूजिक भिडियो निर्माता नेपालयका किरणकृष्ण भन्छन्, ‘यसरी जम्मा भएका दृश्यहरु पछि हेर्दै जाँदा यो गीतलाई नै यस भिडियोमार्फत् सम्पूर्ण उत्साहित दर्शकहरुमा समर्पित गर्ने हिसाबले तयार पार्ने सोच विकास भएको हो जसमा दर्शकहरुमा स्वतःस्फूर्त पैदाभएको प्रेम देख्न सकिन्छ ।’
यस गीतलाई नेपथ्यको आधिकारीक युट्युब च्यानल www.youtube.com/nepathyaofficial स्थित यो लिंक
https://www.youtube.com/watch?v=NxYsecULdM4 मा हेर्न सकिन्छ ।
यससँगै नेपथ्यले अब त्यसै अल्बमको तेश्रो गीत सार्वजनिक गर्ने तयारी थाल्नेछ । कहिले ? त्यो पनि छिट्टै जानकारी दिनेछौं ।

हो रामा रामा
शब्द, संगीत, प्रस्तुती
नेपथ्य

हो रामा रामा, हो रामा रामा
हाइ माया हाँसी दिँदा
देब्रे गालामा डिम्पल बसने
हो रामा रामा, हो रामा रामा

हाइ माया हिउँचुली र वरचुली
सरमाइ लजाउने
हो रामा रामा, हो रामा रामा

तिम्रो बयान संसारै चल्यो
भेटघाट भावीले जु¥यो
मै ज्यानलाई सत्य मरिजाउँ
मै ज्यानलाई सत्य मरिजाउँ
हो रामा रामा, हो रामा रामा

हो रामा रामा, हो रामा रामा
हाइ माया रातो टीका रातै लाछा
शिरमै मोहनि
हो रामा रामा, हो रामा रामा

हाइ माया आँखासामु जे गरे नि
हिस्सी छाइरहने
हो रामा रामा, हो रामा रामा

तिम्रो बयान संसार चल्यो
भेटघाट भावीले जु¥यो
मै ज्यानलाई सत्य मरिजाउँ
मै ज्यानलार्ई सत्य मरिजाउँ
हो रामा रामा, हो रामा रामा

हो रामा रामा, हो रामा रामा
हाइ माया जुनको छायाँ
लाउन माया मनकै तिर्सना
हो रामा रामा, हो रामा रामा
हाइ माया क्या मिल्दो जोडी
च्याट्टैमा प¥यो इश्वरकै वरदान
हो रामा रामा, हो रामा रामा