७ बैशाख २०८१, शुक्रबार
Follow Us

सिटीको सुखद् सुरुवात

नेपालब्रिटेन संवाददाता
२८ श्रावण २०७५, सोमबार ०५:१६

लन्डन । साविक बिजेता म्यानचेस्टर सिटीले इंग्लिश प्रिमियर लिग फुटबलमा विजयी सुरुवात गरेको छ । गए राति भएको खेलमा आर्सनललाई २–० गोल अन्तरले हराउदै सिटीले विजयी सुरुवात गरेको हो । सिटीले आर्सनललाई उसैको मैदानमा हराएर शानदार जित निकालेको हो । सिटीको जितमा रहिम स्ट्रलिङ र बर्नान्डो सिल्भाले एक–एक गोल गर्नु भयो ।

इमिरेट्स स्टेडियममा पहिलो हाफको १४औं मिनेटमा स्ट्रलिङले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाउनु भयो । दोस्रो हाफको ६४औं मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई २–० को सहज जित दिलाउनु भयो ।

घरेलु टोली आर्सनलले सिटीविरुद्ध केहि गोलको अवसर बनाएपनि गोल गर्न सकेनन् । आर्सनलका पेरिक एम्रिक आबुमियाङले दोस्रो हाफमा गोल गरेपनि रेफ्रीले अफसाइट दिएको थियो । जितसंगै सिटीले सिजनको पहिलो खेलमा ३ अंक जोडेको छ । यता, आर्सनलले भने हारबाट सिजनको सुरुवात गरेको छ ।