१६ चैत्र २०८०, शुक्रबार
Follow Us

नेपालले ओमनलाई दियो २२२ रनको लक्ष्य

नेपालब्रिटेन संवाददाता
१३ भाद्र २०७५, बुधबार ०७:०५

काठमाडौं । सागर पुनको उकृष्ट ब्याटिङसँगै नेपालले एसिया कप छनोटमा ओमानलाई २२२ रनको लक्ष्य दिएको छ । ओमानले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । मलेसियाको बायुमास ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २२१ रन बनायो ।

नेपालका लागि सागर पुनले सर्वाधिक ८३ रन बनाए । अन्तिम ओभरमा रन आउट हुनअघि उनले ६ चौका र दुई छक्का हिर्काए । ८० रनको स्थितिमा ४ विकेट गुमाएको स्थितिमा रहेको बेला पुनले आरिफ शेखसँग ९२ रनको महत्वपूर्ण साझेदारी गर्दै टोलीलाई अप्ठ्यारो स्थितिबाट उकासे ।

एक छक्का र ३ चौकासहित शेखले ३६ रन बनाएर मोहमद नादिमको बलमा क्याच आउट हुँदा नेपालको स्कोर १ सय ७२ रन रहेको थियो । उपकप्तान ज्ञानेन्द्र मल्लले ४५ रन बनाउँदै नेपाललाई राम्रो शुरुवात दिलाएका थिए । उनले ६० बलमा ६ चौका र एक छक्का हिर्काए ।

खेलको अन्त्यतिर करन केसीले विस्फोटक ब्याटिङ गर्दै नेपालको स्कोर २ सय रन पार गराए । उनले मात्र १० बलमा दुई छक्का र एक चौका हिर्काउँदै २६ रन बनाए ।

सुवास खकुरेल चार, कप्तान पारस खड्का आठ रन, दीपेन्द्र सिंह ऐरी नौ रन तथा सोमपालकामी पाँच रनमा आउट भए । प्रतियोगितामा नेपालसँगै आयोजक मलेसिया, ओमन, युएइ, सिंगापुर र हङकङ रहेका छन् ।