१५ चैत्र २०८०, बिहीबार
Follow Us

एशियाकप छनोट क्रिकेट : नेपालको पहिलो जीत

नेपालब्रिटेन संवाददाता
१६ भाद्र २०७५, शनिबार १२:२३

काठमाडौं । एशिया कप छनोट क्रिकेटमा नेपालले आयोजक मलेशियालाई १९ रनले पराजित गर्दै छनोटमा पहिलो जित निकालेको छ । मलेशियाको राजधानी क्वालालम्पुरस्थित ओभल क्रिकेट मैदानमा नेपालले दिएको १८९ रनको लक्ष्य पछ्याउने क्रममा मलेशियाले निर्धारित ३० ओभरमा नौ विकेट गुमाएर १६९ रन मात्र बनायो ।

मलेशियालाई १६९ रनमै सीमित गर्ने क्रममा नेपालका वसन्त रेग्मीले तीन, सोमपाल कामी र सन्दीप लामिछानेले समान दुई÷दुई, सागर पुन र दीपेन्द्रसिंह ऐरीले एक÷एक विकेट लिए । मलेशियाका लागि मोहम्मद अनवरले ३४, सैद अजिज मुवारकले ३४, अहमेद फैज नुरले २२, भिरनदीप सिंहले २१, मोहम्मद रम्लीले १३ र सरभिन मुनियान्डीले १० रन बनाए ।

ययअघि टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित ३० ओभरमा दिपेन्द्रसिंह ऐरी र अरिफ शेषको अर्धशतकको मद्दतले सात विकेटको क्षतिमा १८८ रन बनाएको छ ।

नेपालका लागि कप्तान पारस खड्काले १३, अनिलकुमार साहले १६, दिपेन्द्रसिंह ऐरीले ५४, ज्ञानेन्द्र मल्लले ११, अरिफ शेषले नटआउट ६४ रनको योगदान गरे । खेल शुरु हुनुअघि बिहान भारी वर्षा भएपछि खेल ३० ओभरमा झारिएको थियो ।

नेपाल यसअघि १३ भदौमा ओमानसँग र १४ भदौमा युएइसँग पराजित भएको हो । मलेशियामाथिको जितसँगै नेपालले छनोटको फाइनल पुग्ने सम्भाना जीवितै राखेको छ । आजको जितसँगै महत्वपूर्ण दुई अङ्क समेत जोडेको छ । नेपालले अब आइतबार सिङ्गापुरसँग खेल्नेछ ।