८ बैशाख २०८१, शनिबार
Follow Us

सरकार र चिकित्सक संघबीच वार्ता हुँदै

नेपालब्रिटेन संवाददाता
१८ भाद्र २०७५, सोमबार ०७:०९

काठमाडौं । गत भदौ एक गतेदेखि लागु भएको नयाँ मुलुकी अपराध संहिता ऐनमा कडा सजायको प्रावधान राखिएको भन्दै आन्दोलनका उत्रिएका चिकित्सक र सरकारबीच आज वार्ता हुने भएको छ । आइतबार चिकित्सकले आकस्मिक बाहेकका उपचार सेवा ठप्प पारी आन्दोलन गरेपछि सरकारले नेपाल चिकित्सक संघलाई वार्तामा बोलाएको हो ।

दिउँसो स्वास्थ्य मन्त्रालयमा हुने वार्तामा कानूनका विवादास्पद विषयमा चिकित्सकका असन्तुष्टिबारे सहमतिको प्रयास हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । वार्तामा स्वास्थ्य राज्यमन्त्री डाक्टर सुरेन्द्रकुमार यादव, चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठ लगायत सहभागी हुनेछन् ।

नयाँ अपराध संहिताको दफा २ सय ३० देखि २ सय ३३ सम्मका व्यवस्था सच्याउनु पर्ने माग चिकित्सकहरुको छ । चिकित्सक संघले आन्दोलनका कार्यक्रम अन्र्तगत आज पनि देशैभरका अस्पतालमा प्रशासनिक काम बन्द गरेका छन् । उनीहरुले मंगलबारदेखि आकस्मिक बाहेकका अन्तरंग सेवामा विरामी भर्ना नगर्ने र बुधबारदेखि आकस्मिक बाहेकका अन्य शल्यक्रिया सेवासमेत बन्द गर्ने घोषणा गरिसकेका छन् ।

बिहीबारदेखि आकस्मिक सेवा बाहेकका ल्याब तथा रेडियोलोजी सेवा बन्द गर्ने र शुक्रबारदेखि आकस्मिक बाहेकका ओपिडी लगायत सम्पूर्ण स्वास्थ्य सेवाहरु माग सम्बोधन नभएसम्म बन्द गर्ने चिकित्सक संघले जनाएको छ ।