७ बैशाख २०८१, शुक्रबार
Follow Us

सुदूरपश्चिमका नारीले गौरा पर्व मनाउँदै, सभापति देउवाको शुभकामना

नेपालब्रिटेन संवाददाता
१८ भाद्र २०७५, सोमबार ०७:१६

काठमाडौं । सुदूरपश्चिम क्षेत्रमा मनाइने धार्मिक तथा सांस्कृतिक महत्वको गौरा पर्व आज हर्षोल्लासका साथ मनाइँदै छ । भाद्र शुक्ल अष्टमीका दिन मनाइने गौरा पर्व उमा महेश्वरसहित दुबोको पूजा गरी सनातन हिन्दू नारीले मनाउने गर्दछन् । विशेष गरी सुदूरपश्चिमका नारीले यो पर्व मनाउने गरेका छन् । दुबोको समेत पूजा गरिने भएकाले यो अष्टमीलाई दुर्वाष्टमी पनि भनिन्छ ।

दुबो जसरी फैलिन्छ त्यसरी नै सन्तान फैलने र मनोकामना पनि पूरा हुने विश्वासका साथ मनाइने यस पर्वमा उमामहेश्वरको पूजा, उपासना र व्रतसमेत बस्ने प्रचलन छ । यो दिनमा सुदूरपश्चिमवासीले देउडा गीत गाएर नृत्य गरी रमाइलो गर्ने गर्दछन् । काठमाडौँको टुँडिखेलमा पनि पर्वका अवसरमा वृहत् धार्मिक तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।

पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालगायतले शुभकामना दिएका छन् ।

सभापति देउवाको शुभकामना
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गौरा पर्वको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।
उहाँले एक विज्ञप्तिमार्फत विविधताले भरिएको हाम्रो समाजमा गर्व गर्न लायक धार्मिक, सांस्कृतिक रीतिरिवाज र परम्परा रहेको र त्यसमध्ये गौरा पर्वले जनजीवनमा गहिरो छाप र विशिष्ट पहिचान बनाएको उल्लेख गर्नुभएको छ ।
विशेषगरी सुदूरपश्चिममा मनाइने यस्ता पर्व सामाजिक सद्भावना बढाउने काममा कोशेढुङ्गा सावित भएको उल्लेख गर्दै सभापति देउवाले यो पर्वले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै सामाजिक सद्भाव अभिवृद्धि गर्न प्रेरित गर्न सकोस् भनी शुभकामना दिनुभएको छ ।