१६ चैत्र २०८०, शुक्रबार
Follow Us

नेपाल पाँचौंपटक सेमिफाइनलबाटै बाहिरियो

नेपालब्रिटेन संवाददाता
२७ भाद्र २०७५, बुधबार १५:२९

काठमाडौं । नेपाल फेरि पनि साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलबाटै बाहिरिएको छ । बंगलादेशमा जारी च्याम्पियनपसिपको पहिलो सेमिफाइनलमा नेपाल बुधबार सदाबहार प्रतिद्वन्द्वी माल्दिभ्ससँग ३–० ले पराजित भएको हो । खेलको नवौं मिनेटमा पहिलो गोल खाएको नेपालले ८४औंमा दोस्रो तथा ८६औं मिनेटमा तेस्रो गोल खाएको हो ।

भरत खवासको कप्तानीमा मैदानमा उत्रिएको नेपालले गोल गर्ने केही अवसर खेरफालेको थियो । खराब मौसमका कारण मध्यान्तरअघि खेल झन्डै आधा घन्टा रोकिएको थियो । माल्दिभ्स समूह चरणमा एक गोल पनि नगरी समूह उपविजेताकारुपमा तथा समूह चरणमा बंगलादेश र भुटानमाथि शानदार जित हासिल गर्दै समूह विजेताका साथ नेपाल सेमिफाइनलमा पुगेको थियो ।

नेपालले साफ च्याम्पियनसिपमा माल्दिभ्ससँग खेलेका सात खेलमध्ये पाँचमा हार बेहोरेको छ । दुई खेल बराबरीमा सकिएका थिए । पहिलोपटक फाइनल पुगेर इतिहास रच्ने लक्ष्यका साथ माल्दिभ्सविरुद्ध उत्रिएको नेपाल सन् १९९५, १९९९, २०११ र २०१३ माजस्तै योपटक पनि सेमिफाइनलबाटै बाहिरिएको हो ।