June 28, 2022
4:00 AM | 8:45 AM
ताजा खबर

बाढीले विद्यालय र सडक बगायो, बेनी बजार जोखिममा

  13/09/2018 मा प्रकाशित

बेनी । रघुगंगा नदीमा आएको बाढीले म्याग्दीमा विद्यालय भवन तथा सडक बगाउनुको साथै बेनी बजार जोखिममा पारेको छ । छहरी भन्ने ठाउँमा पहिरोले रघुगंगा नदी थुनेपछि हिजो साँझ आएको बाढीले रघुगंगा गाउँपालिका ८ घ्याँसीखर्क स्थित रितुङ माध्यमिक विद्यालयको दुई वटा भवन, एक वटा शौचालय बगाउनुका साथै अर्को एउटा भवन आधा बगाएको वडा अध्यक्ष गमान छन्त्यालले जानकारी दिनु भयो ।

बाढीले घ्याँसीखर्कस्थित स्वास्थ्य चौकी बगाउनुका साथै तीन झोलुङ्गे पुलमा पनि क्षति पुर्याएको छ । खरिबोटस्थित बेलबहादुर छन्त्याल, चन्द्रबहादुर छन्त्याल र यमबहादुर छन्त्यालको घर र कुईनेमंगलेको तेर्सो भन्ने ठाउँमा अर्को एउटा घर पनि रघुगंगामा आएको बाढीले बगाएको वडा अध्यक्ष छन्त्यालले जानकारी दिनु भयो ।

करिब बीस घर रहेको घ्याँसीखर्क गाउँ नदी कटानका कारण जोखिममा परेको छ । यसैगरी, माथिल्लो क्षेत्रका विभिन्न ठाउँमा गएको पहिराका साथै रघुगंगा र कालीगण्डकी नदीमा आएको बाढीले तटीय बस्तीहरुमा क्षत्ती पुर्याएको छ ।

सदरमुकाम बेनी बजार संरक्षणका लागि कालीगण्डकी नदीको किनारमा निर्माणाधिन पक्की पर्खाल बाढीले बगाएको प्रजिअ लिलाधर अधिकारीले बताउनु भयो । करिब पचास मिटर पक्की पर्खाल बगाएर बस्तीतर्फ कटान गर्न थालेपछि बेनी बजार उच्च जोखिममा परेको हो । यसैगरी यो गाउँपालिका ३ राहुघाटको बस्ती र बेनी जोमसोम सडक अन्तर्गतको बेलिब्रिज कटानको जोखिममा परेको छ ।

कालीगण्डकीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका २ बारीबेनीदेखि बगरफाँटतर्फ जाने करीब दश मिटर सडक बगाएको बगरफाँटका सुरेशबहादुर बिकले बताउनु भयो । कटान र पहिरोका कारण म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी जोमसोम सडक पूर्ण रुपमा अवरुद्ध भएको छ ।

चमेरे, बैसरी, बेगखोला, भुरुङ तातोपानी, रुप्से र घाँसा खण्डमा पहिरो र कालीगण्डकीको कटानका कारण सडक अवरुद्ध हुँदा स्थानीयबासी तथा मुस्ताङ ओहोर–दोहोर गर्ने पर्यटक समस्यामा परेका छन् । मुस्ताङमा उत्पादित स्याउ बजार पठाउन समस्या भएको छ ।

यसैगरी पहिरोले मुस्ताङको थासाङ गाउँपालिका ५ कुञ्जोस्थित स्वास्थ्य चौकी र आमा समूहको भवन पुरिएकोे छ भने थासाङ गाउँपालिका २ सौरुमा बाढी पस्दा दश घरमा क्षती पुगेको छ ।

प्रतिक्रिया