१२ बैशाख २०८१, बुधबार
Follow Us

लमजुङमा पहिरो, ३ जनाको मृत्यु , ४ जना बेपत्ता

नेपालब्रिटेन संवाददाता
२८ भाद्र २०७५, बिहीबार ०५:४३

बेशीसहर । अविरल वर्षापछि आएको पहिरोमा परी लमजुङमा ३ जनाको मृत्यु भएको छ । ४ जना बेपत्ता भएका छन् । मर्स्याङ्दी गाउँपालिकाका उपाध्यक्ष होमबहादुर बिकका अनुसार मर्स्याङ्दी गाउँपालिका वडा नम्बर –३, पल्लोटारीमा घरमाथिबाट आएको पहिरोबाट ज्यान जोगाउन भाग्ने क्रममा ६५ वर्षीया अतिरुपा थापा र थापाकी १० वर्षीया नातिनी सिरास थापाको मृत्यु भएको हो ।

त्यस्तै पहिरोमै परि श्रीचौरकी ४७ वर्षीया बिष्णुकुमारी गुरुङको मृत्यु भएको छ । बेंसीसहर–चामे सडक खण्डको अर्खलेबेंसीमा पहिरोमा परि २ जना जना बेपत्ता भएका छन् । मर्स्याङ्दीमा एक्कासि आएको बाढीले बगाउँदा बेसीसहर नगरपालिका ११, रामचोकबेंसीस्थित दोर्दीखोला जलविद्युत आयोजनाको पावरहाउस निर्माणमा खटिएका २ जनालाई मस्र्याङ्दीले बगाएको छ ।

लमजुङका प्रहरी नायव उपरीक्षक यादव ढकालका अनुसार पावर हाउसको काममा कार्यरत बर्दियाका अन्दाजी २८ वर्षीय बलिराम चौधरी र अन्दाजी २२ वर्षीय लक्ष्मी प्रसाद थारुलाई मर्स्याङ्दीले बगाएको छ । बेपत्ताहरुको खोजी कार्य जारी रहेको ढकालले बताउनुभयो ।