१६ चैत्र २०८०, शुक्रबार
Follow Us

एनआरएनए विज्ञ सम्मेलन ज्ञान, सीप र प्रविधिबारेको बहसमा केन्द्रित

नेपालब्रिटेन संवाददाता
२७ आश्विन २०७५, शनिबार १२:१०

काठमाडौं । प्रत्येक वर्ष दसैं–तिहारको मौका छोपेर हुने गैरआवासीय नेपाली संघको सम्मेलन यसपटक पनि काठमाडौंमा आयोजना गरिएको छ । लामो समयसम्म पुँजी लगानीमा केन्द्रित रहँदै आएको सम्मेलन यसपटक भने ज्ञान, सीप तथा प्रविधिबारे बहस गर्न आयोजना गरिएको हो । विदेशमा प्रयोग भइरहेका नयाँ–नयाँ प्रविधि, ज्ञान र क्षमतायुक्त मानव संशाधनको बढीभन्दा बढी प्रयोग गर्ने उद्देश्यले विज्ञ सम्मेलन आयोजना गरिएको संघले जनाएको छ ।

यसपटकको एनआरएनएको सम्मेलन कृषि तथा खाद्य सुरक्षा, विपद् न्यूनीकरण, शिक्षा, वातावरण प्रदूषण, वित्तीय नीति तथा लगानी, सामाजिक सुरक्षा, प्रविधि रुपान्तरणलगायत ११ ओटा विषयमा केन्द्रित छ । गैरआवासीय नेपालीले विदेशमा सिकेको ज्ञान र सीप स्वदेशमा उपयोग गर्ने उद्देश्यले विज्ञ सम्मेलनको आयोजना गरिएको संघले जनाएको छ । ज्ञान, सीप र अनुभवलाई पैसासँगमात्र दाँजेर हेर्न नहुने भन्दै उनीहरुको दक्षताबाट नेपाललाई फाइदा हुनसक्ने संघको विश्वास छ ।

पुँजी र नवीन अवधारणा संसारको महत्वपूर्ण सम्पत्ति रहेको भन्दै गैरआवासीय नेपालीले विदेशमा आर्जन गरेका पुँजी, सीप र ज्ञान नेपालको समृद्धि र विकासका लागि महत्वपूर्ण हुने गैरआवासीय नेपालीहरुको भनाइ छ । संसारभर छरिएर रहेका नेपालीहरुको क्षमताअनुसारको साधन–स्रोत जुटाएर हातेमालो गर्नुपर्नेमा उनीहरुको जोड छ । यसबाट गैरआवासीय नेपालीहरुको भूमिका विस्तार हुने अपेक्षा गरिएको छ ।

संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले विदेशमा आर्जन गरेको ज्ञान र सीपलाई मुलुकको समृद्धिका लागि प्रयोग गर्न आह्वान गरे ।