४ बैशाख २०८१, मंगलवार
Follow Us

अमेरिकामा कार दुर्घटना हुँदा नेपाली महिला गम्भिर घाइते

नेपालब्रिटेन डट कम्
२७ आश्विन २०७५, शनिबार २१:३७

अमेरिका । अमेरिकामा कार दुर्घटना हुँदा नेपाली महिला गम्भीर घाइते भएकी छन्।

चितवन स्थायी घर भई हाल डलास टेक्सासमा आफ्नो परिवारका साथ बस्दै आएकी गंगा कार्कीको कार दुर्घटनामा परेर गम्भीर घाइते भएकी हुन्। गएको २२ सेप्टेम्बरको साँझ साढे ८ बजे तिर कामबाट घर फर्कने क्रममा हाईवे १८३ आर्भिङ्ग टेक्सासमा ठुलो कार दुर्घटनामा परेकी उनी गम्भीर घाइते भएकी हुन्। दुर्घटना लगत्तै अर्धचेत अवस्थामा उनलाई उपचारका लागि बेलोर ग्रेपभाईन हस्पिटलमा लगिएको थियो ।

करिब ४ घण्टाको अपरेसनपछि उपचारमा संलग्न डाक्टरहरुले गंगाको शरीर र अनुहारमा धेरै हड्डीहरु भाँचिएको तथा छातीमा निकै ठूलो चोट रहेको र रगत बग्ने क्रम नरोकिएको बताउँदै पेटको ओपन सर्जरी समेत गर्नुपरेको बताएका छन्।

अहिले गंगा ट्रौमा (आईसियु) मा आफ्नो जीवन संघर्ष गरिरहेकी छिन्। हालसम्म दुईवटा मेजर सर्जरी भइसकेको छ भने फोक्सोमा पानी देखा परेकाले थप ३ वटा सर्जरी गर्न बाँकी रहेको चिकित्सकले बताएका छन्। उपचारमा संलग्न चिकित्सककाअनुसार उनको उपचारका प्रक्रिया लामो समय चल्नेछ।

गंगाका ६ वर्ष र ११ महिनाको दुई छोरा छन्। श्रीमती घाइते भएपछि श्रीमान दिनेश कार्कीले आफ्नो काम छाडेर दुई छोरा र श्रीमतीको हेरचाहमा समेत समय दिनु परेको छ। यसर्थ कमाउने मानिस नै विरामी र बिरामी तथा छोराको हेरचाहमा लाग्नु परेपछि कार्की परिवार आर्थिक संकटमा परेका छन् । त्यसमाथि उपचारका लागि समेत खर्च गर्नुपर्दा न्यून आम्दानीले गर्दा गंगाको उपचारमा आर्थिक अभाव भएको छ । जस कारण देश विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा आ–आफ्नो ठाउँबाट जे जति सकिन्छ सहयोग गर्न कार्की परिवारले अनुरोध गरेको छ ।

गंगाको उपचारका लागि सहयोग गर्न चाहनेहरुले अनलाईन सहयोगका लागि https://www.gofundme.com को https://www.gofundme.com/ganga-karki-medical-expenses लिङकमा क्लिक गरी आफ्नो सहयोग रकम पठाउन सकिनेछ।