१५ चैत्र २०८०, बिहीबार
Follow Us

आत्मनिर्भर बन्दै दृष्टिविहीन

sarusaru
८ कार्तिक २०७५, बिहीबार ०४:२५

मोरङ — पथरीशनिश्चरे ७ उत्तमचोकका दृष्टिविहीन ४४ वर्षीय सुकबहादुर लिम्बूलाई अहिले मुढा बनाउन भ्याइनभ्याइ छ  । चाडपर्वको बेला बजारमा मुढाको माग बढेकाले उनी दिनरात मुढा बनाउन तल्लीन छन्  ।

मोरङको पथरीशनिश्चरे ७ उत्तमचोकका दृष्टिविहीन सुकबहादुर लिम्बू मुढा बनाउँदै । तस्बिर : देवनारायण/कान्तिपुर

९ वर्षको उमेरमा आँखा पाक्ने रोगको उपचार नहुँदा दुइटै आँखाको ज्योति गुमाएका उनले ३० वर्षसम्म अरूको सहारामा बाँच्न बाध्य थिए । विराटनगर आँखा अस्पतालले समुदायमा आधारित पुन:स्थापना कार्यक्रमअन्तर्गत गमनशीलता तालिम प्रदान गरेपछि आफैं हिंडडुल गर्नुका साथै काम गरेर खान सक्ने भएको लिम्बूले बताए ।

‘अस्पतालले पुन:स्थापना कार्यक्रमअन्तर्गत ३ वर्षअघि मुढा बनाउने तालिम दिएपछि काम सुरु गरेको हुँ,’ उनले भने, ‘अहिले दैनिक ३/४ वटा मुढा बनाएर बिक्री गरी जीवन गुजारा गर्न सहज भएको छ ।’ अस्पतालले प्रदान गरेको १५ हजार ऋण सहयोगले बंगुर पालनसमेत गरेको उनले बताए । दुई बंगुर बिक्री गरेर अहिले २ वटा पाठा पालिरहेको उनले बताए ।

Yamaha

‘३० वर्षसम्म अरूको सहारामा बाँच्नु परेको पीडा अहिले बिर्सिंदै गएको छु,’ उनले भने, ‘दिसापिसाब गर्न जाँदा पनि अरूको सहारा लिनुपर्ने बाध्यता हट्नुका साथै काम गर्नसमेत सक्षम हुँदा खुसी लागेको छ ।’

समयमा आफ्नो आँखाको उपचार गराएको भए अहिले यो परिस्थितिको सामना गर्नुपर्ने अवस्था नआउने उनको भनाइ थियो । आँखा पाक्ने रोग लागेपछि उपचार गराउनुको साटो धामीझाँक्रीकोमा झारफुक गराउँदा ज्योति गुमेको
उनले सुनाए ।

यस्तै, रतुवामाई ६ का शंकरप्रसाद ढकाल २५ वर्षको हुँदा आँखाको नसा सुकेर दुवैको ज्योति गुमाए । आँखा नदेख्ने भएपछि पत्नीले सम्बन्ध विच्छेद गरेर गएको उनले सुनाए । ‘जीवनको सहारा एक छोरा थियो उसलाई पनि लिएर गएपछि आफू एक्लो बेसहारा भएर दाइभाउजूको शरणमा पुगेँ, एक्लै हिँड्न नसक्ने, खाना पनि खान नसक्ने, शौचालयसमेत अरूले लगिदिनुपर्ने अवस्थामा बाँचेँ,’ उनले भने, ‘विराटनगर आँखा अस्पतालले गाउँमा अपांगता भएकालाई आत्मनिर्भर अभियान सञ्चालन गरेपछि आफू पनि सहभागी भएर गमनशीलताको तालिम लिएर आफ्नो काम आफैं गर्न सक्षम भएँ ।’

अहिले नेत्रहीन संस्थामा एक महिने मुढा बनाउने, च्याउखेती र बाख्रापालन तालिम लिएर आयआर्जनसमेत गरिरहेको उनले सुनाए ।

विराटनगर आँखा अस्पताल रानीले सीबीआरको सहयोगमा सन् २०१३ मा मोरङको तत्कालीन ११ गाविसमा दृष्टिविहीनलाई आत्मनिर्भर बनाउन ‘समुदायमा आधारित पुन:स्थापना’ कार्यक्रम सुरु गरेको थियो । उक्त अभियानअन्तर्गत झुरकिया, बरंगा, महदेवा, सिजुवा, रंगेली, गोविन्दपुर, टकुवा, अमरदह, हसन्दह, शनिश्चरे र पथरीका २ सय १३ जना आँखा नदेख्ने अहिले आत्मनिर्भर भएका छन् ।

उनीहरूलाई गमनशीलता, सकारात्मक सोच विकास, भोकेसनललगायत तालिम दिइएको छ । दृष्टिविहीनको दैनिक जीवनयापनका लागि सीपमूलक तालिम दिएर प्रतिव्यक्ति १५ हजार निब्र्याजी ऋण दिएर आयआर्जन कार्यक्रम सञ्चालन गर्दै आएको अस्पतालका सीबीआर संयोजक अफाक अनबरले बताए ।

११ गाविसस्थित दृष्टिविहीन र कान नसुन्ने ३५ बालबालिकालाई विद्यालय भर्ना गराएको उनले सुनाए । उक्त कार्यक्रमअन्तर्गत ११ गाविसका ४ हजारभन्दा बढी न्यून दृष्टि भएकाको आँखा उपचार भएको उनले बताए ।

अहिले रतुवामाई, पथरीशनिश्चरे, उर्लाबारी नगरपालिका र केराबारी, मिकलाजुङ गाउँपालिकामा पनि कार्यक्रम विस्तार गरेको उनले जनाए । ती गाउँ र नगरपालिकामा अहिले सहजकर्ता परिचालन गरेर आँखा जाँच गरी दृष्टिविहीन पहिचानको काम भइरहेको अन्सारीले सुनाए ।

अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष सांसद पदम नारायण चौधरीले आँखाका बिरामीलाई सेवा गरिरहेका तर उपचार विधिले संसार देखाउन नसक्नेका लागि पनि केही गरौं भन्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरेको बताए ।
कान्तिपुर दैनिक