१६ चैत्र २०८०, शुक्रबार
Follow Us

नेकपाको चियापान शनिबार, काठमाडौंका घर–घरमा निम्तो कार्ड

नेपालब्रिटेन संवाददाता
९ कार्तिक २०७५, शुक्रबार १४:४९

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको (नेकपा)ले विजयादशमी, दीपावली, नेपाल सम्वत् र छठका अवसरमा शनिबार आयोजना गर्ने चियापान कार्यक्रममा सार्वजनिक निम्ता गरेको छ । चियापानमा सहभागिताका लागि काठमाडौं उपत्यकाको घर–घरमा निम्तो कार्ड पठाइएको छ । अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहालको हस्ताक्षर भएको निम्तो कार्ड प्रत्येक घरको गेटबाटै फालिएको छ ।

पार्टीका महासचिव विष्णु पौडेलले आज जारी गर्नुभएको विज्ञप्तिमा राज्यका सबै पक्ष, संवैधानिक निकाय, राजनीतिक दल, नागरिक समाज, कूटनीतिक क्षेत्र तथा विकासका साझेदार पक्षबीचमा एकता र आपसी विश्वास अभिवृद्धि गर्ने हुँदा चियापानमा सहभागी हुन सबैलाई आग्रह गरिएको छ ।

विज्ञप्तिमा नयाँ संविधान लागू भएर तीनै तहको निर्वाचन सम्पन्न भएपछि मुलुक सम्मृद्धिको महाअभियानतर्फ राष्ट्रिय अठोटमा हिँडिरहेको अवस्थामा सबै पक्षको सहयोगको अपेक्षा गरिएको छ । नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक विविधताले भरिपूर्ण राष्ट्र भएको जनाउँदै विज्ञप्तिमा विविधताभित्रको एकता, आपसी सद्भाव, सहिष्णुता तथा समझदारी र सहकार्यलाई जोड दिइएको छ ।

पार्टीले विगतदेखि नै नेपालीले मनाउँदै आएका चाडबाड र सांस्कृतिक पर्वका अवसरमा ऐतिहासिक परम्परा तथा संस्कृतिको संरक्षण तथा सम्वद्र्धन गर्नु र समयानुकूल रूपान्तरण गर्दै जानु आजका दिनमा राज्य र पार्टीका दायित्व भएको भनिएकोे छ ।

काठमाडौँको भृकुटीमण्डपमा अपराह्न १२ बजेदेखि ५ बजेसम्म आयोजना गरिने कार्यक्रममा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’का नामबाट निमन्त्रणा गरिएको छ ।

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले पार्टी एकतापछि पहिलोपटक भृकुटीमण्डपस्थित बगैँचामा गर्न लागेको चियापानमा पार्टीले करीब ५० हजारलाई निम्ता गरेको छ भने करीब ३५ हजार सहभागी हुने अनुमान गरिएको छ । कार्यक्रमलाई व्यवस्थित बनाउनका लागि ३०० स्वयंसेवक परिचालन गरिने छ ।