१३ बैशाख २०८१, बिहीबार
Follow Us

समीरमानको श्रीमती मायालाई किन पक्राउ ग-यो प्रहरीले ?

नेपालब्रिटेन संवाददाता
१८ कार्तिक २०७५, आईतवार १३:१७

काठमाडौं । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न भएको भन्दै हत्याका मुख्य योजनाकार समीरमानसिंह बस्नेतकी श्रीमती माया शेरचन बस्नेतलाई प्रहरीले आइतबार काठमाडौंबाट पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाका टोलीले उनलाई काठमाडौंबाट पक्राउ गरेको हो । गौचन हत्याको आरोपमा अपराध महाशाखाको टोलीले कात्तिक १२ गते लोप्साङ लामा, अम्बर बहादुर राना र रोशन बुढाथोकीलाई पक्राउ गरेपछि मायाको पनि संलग्नता खुलेकोे हो ।

पक्राउ परेकाले अदालतमा समेत हत्यामा समीरको श्रीमतीको समेत संलग्नता भएको बयान दिएका थिए । उनीहरुको बयानको आधारमा जिल्ला अदालत काठमाडौं पक्राउ पूर्जी लिएर उनलाई पक्राउ गरेको हो ।

समीरमानकी श्रीमती मायाको गौचन हत्या, गुण्डा नाइके दावा लामामाथि गोली प्रहार, युवा संघ रुपन्देहीका तत्कालीन अध्यक्ष दुर्गा तिवारीको हत्या लगायतका घटनामा पनि संलग्नता रहेको प्रहरीले जनाएको छ ।

दावालाई गोली हान्ने बेलामा काठमाडौंको सितापाइलामा सुटर अम्बरबहादुर रानालाई मायाले नै पेस्तोल दिएको बयानका क्रममा रानाले बताएको प्रहरीले जनाएको छ । पछि दावालाई गोली हानेपछि आफूले समीरको श्रीमतीलाई पेस्तोल फिर्ता गरेको पनि रानाले बयानका क्रममा भनेका थिए ।

गौचनलाई गोली हान्ने बेलामा पनि समीरकै श्रीमतीले पेस्तोल दिएको र आफूले गोली हानेको अम्बरले बताएका छन् । यो तथ्य फेला परेपछि थप अनुसन्धानका लागि पक्राउ गरिएको अपराध महाशाखाले जनाएको छ ।

गौचन हत्याको आरोपमा अपराध महाशाखाको टोलीले कात्तिक १२ गते लोप्साङ लामा, अम्बर बहादुर राना र रोशन बुढाथोकीलाई पक्राउ गरेको थियो । समीरमान भने अहिले जेलमै छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले भारतबाट पक्राउ गरेर मंसिर १७ गते बस्नेतलाई सार्वजनिक गरेको थियो ।

यसअघि समिरलाई कारागार व्यस्थापन विभागले मुस्ताङ सरुवा गर्दा मायाले प्रहरीले इन्काउन्टर गर्न खोजेको आरोप लगाएकी थिइन् ।