१२ बैशाख २०८१, बुधबार
Follow Us

कांग्रेसको केन्द्रीय समिति बैठक म‌ंगलबार

नेपालब्रिटेन संवाददाता
१८ कार्तिक २०७५, आईतवार १३:२२

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक कात्तिक २० गते म‌ंगलबार बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा कांग्रेसको महासमिति बैठक, नेविसंघको महाधिवेशनलगायत विषयमा छलफल हुने कांग्रेसले जनाएको छ।

बैठकमा विधान मस्यौदा समितिले तयार पारेको पार्टीको विधान मस्यौदामा पनि छलफल हुन सक्ने कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए। ‘मस्यौदा समितिले विधानलाई मंगलबारसम्म सक्ने भनेको छ’, उनले भने, ‘मस्यौदा समितिले काम सके छलफल पनि प्रारम्भ हुनेछ।’

कांग्रेसले महासमिति बैठक मंसिर ५ देखि ९ गतेसम्म बोलाएको छ। तर यो समयमा बैठक गर्न निकै मुस्किल छ। महामन्त्री डा. शशांक कोइरालाले बैठक सर्ने यसअघि नै बताइसकेका छन्। केन्द्रीय समिति बैठकले महासमिति बैठक पनि सार्न सक्ने डा. महतले संकेत गरे। ‘अब समय निकै कम छ।

यो अवधिमा गरन सकिन्छ कि सकिँदैन भन्ने विषयमा पनि छलफल हुन्छ’, उनले भने, ‘बैठकमा जुन सुझाव आउँछ, त्यहीअनुसार अघि बढ्छौँ।’कांग्रेसको यो बैठक एक महिनापछि बस्न लागेको हो। यसअघि असोज २१ मा बसेको बैठकमा नेविसंघको विधानलाई लिएर नेताहरूबीच विवाद हुँदा बैठक स्थगित भएको थियो।