११ बैशाख २०८१, मंगलवार
Follow Us

नेकपा असन्तुष्ट पक्षको भैसेपाटीमा गम्भीर छलफल, खुलेरै सरकारविरुद्ध लबिङ

नेपालब्रिटेन संवाददाता
१९ कार्तिक २०७५, सोमबार १३:३१

काठमाडौं । सत्ताधारी पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष तहका नेताहरु नै एकआपसमा बाझिने भाषणवाजी गर्दै हिडेपछि उनीहरुबीच अन्तरविरोध सतहमा देखिन थालेको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले सरकारको समर्थनमा अभिव्यक्ति दिइराख्दा सचिवालय सदस्य वामदेव गौतम भने सरकारको विरोधमा उत्रिएपछि उनीहरुबीचको अन्तरविरोध सतहमा देखिएको हो ।

विराटनगरमा अध्यक्ष दाहालले सरकारले अब गियर चेन्ज गरेर सरकारले अब समृद्धिको बाटोमा जाने बताईरहदाँ गौतमले भने सरकारकै विरुद्धमा लबिङ सुरु गरेका हुन् । उनले नेकपाका केही नेतामा दुई तिहाइको दम्भ रहेको दाबी गर्दै आफू पक्षीय सांसदहरुलाई भित्रैदेखि सरकारविरुद्ध लबिङ गर्न निर्देशन दिएको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री केपी ओलीले सरकारमाथि चौतर्फी आक्रमण भएकाले त्यसको प्रतिवाद गर्न आग्रह गरिरहेका बेला विकासको भिजनभन्दा पनि गफ गर्ने कला मात्रै भएको बताएर गौतमले सरकारविरुद्ध आफै पनि आक्रमक भएको संकेत गरेका थिए । उनले कांग्रेसले पनि पटक पटक बहुमत ल्याएको बताउँदै कालान्तरमा कांग्रेसभित्र देखिएको गुटबन्दीले सिध्याएको र नेकपामा त्यसको संकेत देखिएको दाबी गरेका थिए ।

उनी पक्षीय सांसदहरु घनश्याम भुसाल, रामकुमारी झाँक्री, नवीना लामालगायतले यसको जिम्मेवारी पाइसकेका छन् । भुसाललाई रुपन्देहीमा भएको पार्टीको चियापान कार्यक्रममा समेत सहभागी गराइएको थिएन भने झाँक्रीलाई संसद् र पार्टी्भित्र कुनै जिम्मेवारी दिइएको छैन ।

त्यस्तै, केन्द्रीय सदस्य ठाकुर गैरे र प्रदेश सांसद किरण गुरुङ पनि यो टिममा सहभागी भएको स्रोतले जनाएको छ । खासगरी उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग झगडा परेपछि उनी सरकारविरुद्ध खुलेरै लाग्न सुरु गरेका हुन् ।

उनले सरकारले पार्टीको चुनावी घोषणापत्रअनुसार काम गर्न नसकेको आरोप लगाएका छन् । चुनावअघि उनकै नेतृत्वमा पार्टीको घोषणापत्र तयार भएको थियो । तर, सरकारको नीति कार्यक्रममा घोषणापत्रको एक अक्षर पनि परेन भन्दै त्यसबारे आफूलाई एक शब्द नसोधिएको दाबी गरेका छन् ।

उनले पार्टीभित्र आन्तरिक निरंकुशता बढ्दै गएको भन्दै आफू निकटकालाई निवास भैंसेपार्टीमै बोलाएर छलफल गरेका थिए । खासगरी ईश्वर पोखरेलले पार्टीको अर्का केन्द्रीय सदस्य सूर्य थापालाई प्रयोग गरी बद्नाम गर्न खोजेको विषयमा पनि गौतमले पार्टीभित्र सो बारेमा कुरा उठाउन निकट सदस्यहरुलाई आग्रह गरेका थिए । पार्टीका अध्यक्ष दाहालले सरकारको बचाउ गरेको बेला गौतमले सरकारको विरोध गर्न थालेका हुन् ।