१५ चैत्र २०८०, बिहीबार
Follow Us

यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार

नेपालब्रिटेन संवाददाता
२० कार्तिक २०७५, मंगलवार ०४:४६

काठमाडौं । यमपञ्चकको दोस्रो दिन आज आज्ञापालक र भरपर्दो रक्षकका रुपमा चिनिएको कुकुरको पूजा गरी कुकुर तिहार मनाइँदै छ । यमराजको द्वारपालकको रुपमा श्याम र सबल नाम गरेका कुकुरले यमलोक जाँदा यमलोकको ढोका खोलिदिन्छन्, भन्ने भनाई छ ।

वैवस्यत मन्वन्तर कुलमा जन्मिएका कुकुरले युधिष्ठिरलाई स्वर्ग यात्रा गराएको कथन पूराणमा छ । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठामीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो । हिजो आज, विभिन्न प्रजातिका कुकुर पाल्ने लहड नै चलेको छ । भने कुकुर किनबेच तथा हेरचाह व्यवसाय समेत फस्टाएको छ ।

यसैबीच, आज बिहानै अरुणोदय कालमा नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदीप दक्षिण फर्काएर बाली बगाउनाले मृत्युपश्चात् नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वासका कारण नरक चतुर्दशीमा नुहाउने गरिन्छ । यसरी बत्ती बालेर बगाउनुलाई नरके बगाउने भनिन्छ ।
यमपञ्चक अर्थात् तिहारका पाँचै दिन तिलको तेल लगाएर स्नान गर्ने प्रचलन छ । यसो गरेमा शरीर स्वस्थ हुने आयुर्वेदिक तर्क छ ।