७ बैशाख २०८१, शुक्रबार
Follow Us

डग अफ द इएर कुशललाई

sarusaru
२० कार्तिक २०७५, मंगलवार ०७:५२

गण्डकी प्रदेश प्रहरी कार्यालयको कुकुर शाखाबाट खटाइएको ‘कुशल’ नामक कुकुरको सहयोगमा बलात्कारका अभियुक्तसम्म प्रहरी पुगेको थियो । १० वर्षीया बालिका श्रेया विकको बलात्कार प्रयासपछि हत्या गरेका २७ वर्षीय कुसुम पौडेल घटना भएको २४ घन्टा नवित्दै पक्राउ परे ।

अपराधीको खोजी तथा पहिचानमा अब्बल जर्मन शेफर्ड जातको कुशललाई घटनामा प्रयोग भएको ढुंगा सुँघाइएको थियो ।

त्यसपछि कुशलले देखाएको ट्रयाकअनुसार प्रहरी अभियुक्तसम्म पुग्यो । सुरुमा कुशल स्तुपा जाने पैदल बाटो हुँदै उक्कालोतर्फ गयो । कुशल अल्मलिएझैं देखिन्थ्यो । तर, पुनः सोही बाटो ओरालोतर्फ झरेर सडक नजिकैको पसलमा वरिपरि घुमेपछि प्रहरीले छिमेकीमाथि नै शंका बढायो ।

हत्या, चोरी, डकैती, लुटपाट, अपहरण जस्ता आपराधिक घटनाको अनुसन्धानमा सघाएर कुशलले आफूलाई अब्बल सावित गरिसकेको छ । यही कारण कारण नेपाल प्रहरीमा कुकुर स्कुल स्थापना भएको ५० वर्षको अवसरमा कुशलले ‘बेस्ट डग अफ द एयर’ को सम्मान पाउँदैछ

नभन्दै अभियुक्त त्यही पसलमा रहेछन् । त्यहाँ बसेर मदिरा तथा लागूऔषध सेवन गरेको खुलेपछि प्रहरीले कुसुमलाई पक्राउ गरेको थियो । प्रहरीलाई दिएको बयानमा उनले भनेका थिए, ‘सुरुमा अघिल्लो दिन म हिँडेको बाटोतिर कुकुर गएपछि खुशी भएको थिएँ तर, फेरि मतिरै आउँदा झसँग भएँ ।’

कुशलको कुशलता यतिमा मात्रै सीमित छैन ।

उसले ११ असोजमा पोखरामा हत्या गरिएकी ६० वर्षीया श्रीमाया गुरुङको अभियुक्तलाई पनि पक्राउ गरायो ।

घर बाहिर बारीमा हत्या गरी छोपेर राखिएको अवस्थामा भेटिएको शवको छेवैमा रहेको ढुंगा र हँसियालाई सुँघेपछि कुशल अनुसन्धान कार्यमा खटियो । गन्ध पहिल्याउँदै अघि बढ्ने क्रममा कुशलले प्रहरीलाई ४ किलोमिटर पर चोकबाट भित्रपट्टी रहेको धानबारीसम्म पुर्‍यायो, जहाँ मृतकका श्रीमान् यमबहादुर गुरुङ लुकेर बसेका रहेछन् । सोधपुछका क्रममा उनले कसुर स्वीकारे ।

चार वर्षदेखि प्रहरी अनुसन्धानमा सेवारत् कुशल आज्ञापालन र अपराधीको खोजीका कारण अनुसन्धान अधिकारीहरुमाझ प्रिय छ । उसले थुप्रै घटनामा अनुसन्धानकर्तालाई सही बाटो देखाएको छ ।

हत्या, चोरी, डकैती, लुटपाट, अपहरण जस्ता आपराधिक घटनाको अनुसन्धानमा सघाएर उसले आफूलाई अब्बल सावित गरिसकेको छ । यही कारण कारण नेपाल प्रहरीमा कुकुर स्कुल स्थापना भएको ५० वर्षको अवसरमा कुशलले ‘बेस्ट डग अफ द एयर’ को सम्मान पाउँदैछ ।

मंगलबार महाराजगञ्जस्थित केन्द्रीय प्रहरी कुकुर तालिम विद्यालयमा हुने कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले यो मेडल हस्तान्तरण गर्नेछन् । कुशल भने पोखरास्थित कार्यालयमै हुनेछ ।
अनलाइन खबर