१६ चैत्र २०८०, शुक्रबार
Follow Us

काङ्ग्रेस महासमिति बैठक मङ्सिर २८ देखि पुस ३ सम्म, गच्छदार उपसभापति

नेपालब्रिटेन संवाददाता
२० कार्तिक २०७५, मंगलवार ११:५०

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको आजको केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको महासमिति बैठकको मिति सार्ने निर्णय गरेको छ ।

अपराह्न १ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले मङ्सिर ५ देखि ९ गतेसम्म तोकिएको बैठक मङ्सिर २८ देखि पुस ३ गतेसम्म राजधानीमा गर्ने निर्णय गरेको हो । बैठकले विधान संशोधन मस्यौदामाथि केन्द्रीय समितिमा छलफल गर्न समय अपुग भएको भन्दै पछाडि सार्ने निर्णय गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

बैठकले नेपाल लोकतान्त्रिक फोरमसँग पार्टी एकीकरणका क्रममा भएको सहमतिअनुसार नेता विजयकुमार गच्छदारलाई उपसभापति बनाउने निर्णय पनि गरेको छ । बाँकी सहमति कार्यान्वयनका सन्दर्भमा अध्ययन गर्न उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ । यसैगरी पार्टीको लेखापरीक्षण समितिका संयोजकमा केन्द्रीय सदस्य श्याम घिमिरेलाई मनोनयन गर्ने निर्णय गरिएको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।