७ बैशाख २०८१, शुक्रबार
Follow Us

ज्येष्ठ नागरिकलाई चाड मनाउन भत्ता

sarusaru
२२ कार्तिक २०७५, बिहीबार ०२:२९

बाग्लुङ जिल्लाको गलकोट नगरपालिकाले ज्येष्ठ नागरिकहरुलाई चाड पर्व भत्ता बितरण गरेको छ ।

नगरपालिकाले नगर परिषदबाट तय गरेको नीति तथा कार्यक्रम अनुसार नगरपालिका भित्र भएका ८५ वर्ष उमेर समुहका ज्येष्ठ नागरिकलाई भत्ता प्रदान गरिएको हो ।

नेपालीहरुको महान पर्व दशैं, तिहार, नेपाल सम्वत, छठ लगायतका पर्व मनाउन जनही नगद ३ हजारका दरले भत्ता प्रदान गरिएको गलकोट नगरपालिकाका उपमेयर रेणुका काउचाले जानकारी दिइन् । सोमवार गलकोट नगरपालिका–२ निवासी ९८ वर्षीया नैनकली दमाईलाई नगर प्रमुख भरत शर्मा गैरे र नगर उप–प्रमुख रेणुका काउचा मगरले संयुक्त रुपमा चाड पर्व भत्ता बितरण गरि शुभारम्भ गरेका थिए । स्थानीय सरकारका तर्फबाट पहिलो पटक चाड पर्व भत्ता पाए पछि ९८ बर्षिया नैनकली हर्षित मुद्रामा देखिइन् । ‘बुढेसकालमा चाडपर्व आउदाँ केटाकेटीलाई दिने, आँफुले खान मन लागेको खान्छु भन्दा पनि मन थामेर बस्नुपरेको थियो,‘ उनले भनिन्, ‘छोरा बुहारी, नाति नातिनीलाई माग्नु पनि अप्ठ्यारो हुन्छ, सरकारले बुढापाकालाई चाडपर्व मनाउन भत्ता दिएर धेरै राम्रो काम गरेको छ ।’

नैनकली मात्र होइनन्, गलकोट नगरपालिका–६ का ९१ बर्षिय अमरबहादुर श्रीस पनि उस्तै हसिलो देखिए । ‘सरकारले कहिले भत्ता काट्ने, कहिले घटाउने केके कुरा गरेर हाम्रो चित्त दुखाउछ, भत्ता पाए पछि मुस्कुराउदै अमरबहादुरले थपे, ‘यो हाम्रो सरकारले धेरै राम्रो शुरुवात गरेको छ, बुढेसकालमा आफुले पाएको रकमले औषधी उपचार गर्न, सहारा नपाउने अवस्थामा पनि थोरै भए पनि राहत प्रदान गर्नेछ ।’
ज्येष्ठ नागरिकहरुले नगरपालिकालाई यस कार्यक्रमलाई आगामी बर्षमा पनि निरन्तारता दिन आग्रह गरेका छन् । नगरपालिकाका ११ वटै वडामा वडा अध्यक्ष मार्फत घर घरमा पुगेर तिहार अघि नै सबैलाई चाड पर्व भत्ता वितरणको गर्ने नगरपालिकाको तयारी छ ।

गलकोट नगरपालिकाले ज्येष्ठ नागरिकहरुलाई चाड पर्व भत्ता बितरणका लागि लगत संकलन गरेर नगर परिषदबाट चाडपर्व भत्ता प्रदान गर्न ४ लाख रुपैयाँ बजेट बिनियोजन गरेको थियो । जसबाट नगरपालिका भित्रका १ सय ५० सय भन्दा बढीलाई चाडपर्व भत्ता बितरण गरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णराज गौतमले बताए । ‘अहिले हामीले ८५ बर्ष भन्दा माथिको मापदण्ड बनाएर चाडपर्व भत्ता बाँड्न थालेका छौ,’ मेयर गैरेले भने, ‘संख्या हामीले अनुमान गरे भन्दा बढी लगत संकलनका क्रममा देखिएको छ, बिनियोजित बजेटले पुग्ने देखिएन, अब हामीले थप व्यवस्थापन गर्ने सोच बनाएका छौ ।’

बृद्धा अवस्था बिशेष अवस्था भएकाले उनीहरुको सम्मान गर्नुपर्ने आवश्यकता महुशुस गरेर ज्येष्ठ नागरिक चाडपर्व भत्ता बितरण शुरु गरिएको नगर प्रमुख भरत शर्मा गैरेले बताए । ‘रकमका हिसावले ठुलो नहुन सक्छ, तर बृद्धबृद्धालाई सम्मान, स्थानीय सरकार छ भन्ने अपनत्व महुशुस गराएर बुढेसकालमा केही राहत महुशुस हुनेछ भन्ने हाम्रो बिश्वास छ ।’ जेष्ठ नागरिकले देश र समाज विकासका लागि महत्वपुर्ण योगदान गरेको स्मरण गर्दै नगर प्रमुख गैरेले हर नागरिक र परिवारमा जेष्ठ नागरिक प्रति सम्भान भाव जागृत गर्नका लागि पनि यस कार्यक्रमले टेवा पुग्ने उनले बताए ।